महोत्तरी । पूर्वी नेपालको प्रवेशद्वारका रूपमा चिनिने बर्दिबास आज यात्रु र व्यापारको मात्र होइन, राष्ट्रिय राजनीतिका गहिरा तरङ्गको केन्द्र बनेको छ । सडक छेउका चिया पसलदेखि सामाजिक जमघटसम्म एउटै प्रश्न घुमिरहेको छ- यो पटक महोत्तरी १ ले कसलाई पत्याउँछ ?
महोत्तरी क्षेत्र नम्बर १ केवल एउटा निर्वाचन क्षेत्र होइन । मधेसी, दलित, मुस्लिम, थारु, आदिवासी जनजाति र खस आर्य समुदायको मिश्रित बसोबास रहेको यो भूगोल नेपालकै सामाजिक विविधताको प्रतिविम्ब हो । यही विविधताले यहाँको राजनीति सरलभन्दा बढी जटिल र अनुमानभन्दा बढी संवेदनशील बनाएको छ ।
फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचन यहाँका दलका लागि सामान्य जित हारको खेल होइन । यो चुनाव राजनीतिक अस्तित्व, वर्चस्व र आगामी दिशाको निर्णायक मोड बनेको छ । महोत्तरी १ को खास विशेषता के छ भने यहाँ दलको झण्डाभन्दा उम्मेदवारको व्यवहार, पहुँच र विश्वासनीयता बढी भारी पर्छ ।
पाँच पात्र, पाँच शैली
यस पटक मैदानमा पाँच प्रमुख दलका उम्मेदवार छन्- नेपाली कांग्रेसबाट डा. मुकेशराज काफ्ले, नेकपा एमालेबाट लक्ष्मी महतो कोइरी, नेकपाबाट गिरिराजमणि पोखरेल, राष्ट्रिय स्वतन्त्र पार्टीबाट प्रमोद महतो र जनता समाजवादी पार्टी नेपालबाट योग नारायण महतो ।
नेकपाका उम्मेदवार गिरिराजमणि पोखरेल राष्ट्रिय राजनीतिमा परिचित, अनुभवी र बौद्धिक नेताका रूपमा चिनिन्छन् । विगतमा तीन पटक निर्वाचित उनी २०७९ मा भने पराजित भए । पाँचौँ प्रयासमा मैदानमा उत्रिँदा पार्टीभित्रको असन्तुष्टि, कमजोर जनसम्पर्क र ‘सत्तामुखी राजनीति’को छविले उनलाई चुनौती थपेको स्थानीय विश्लेषकहरू बताउँछन् ।
एमालेका लक्ष्मी महतो कोइरी भने स्थानीय राजनीतिमा भुइँमान्छेका प्रतिनिधि मानिन्छन् । सरल स्वभाव, सहज पहुँच र स्थानीय मुद्दामा केन्द्रित राजनीतिले उनलाई बलियो बनाएको छ । तर अघिल्लो निर्वाचनमा साथ दिएको जसपा नेपाल यस पटक विपक्षमा उभिँदा समीकरण जटिल बनेको छ । महतो समुदायको मत विभाजन हुने सम्भावनाले नतिजा अनिश्चित बनाएको छ ।
नेपाली कांग्रेसका उम्मेदवार डा. मुकेशराज काफ्ले प्राज्ञिक र प्राविधिक पृष्ठभूमिका व्यक्ति हुन् । संगठनात्मक कमजोरी र मतदातामाझ अपरिचित अनुहार हुनु उनका चुनौती हुन् । तर ऊर्जा, विकास र व्यवस्थापनका एजेन्डासहित नयाँ मतदाता तान्ने प्रयासमा उनी सक्रिय देखिन्छन् ।
राष्ट्रिय स्वतन्त्र पार्टीका प्रमोद महतो उम्मेदवारभन्दा बढी ‘घण्टी’ चिन्हको लोकप्रियतामा निर्भर देखिन्छन् । कमजोर संगठन र सीमित व्यक्तिगत पहिचानले उनको चुनावी सम्भावनामा प्रश्न उठेको छ ।
जसपा नेपालका योग नारायण महतो युवा र शिक्षित उम्मेदवारका रूपमा प्रस्तुत छन् । तर पार्टीभित्रकै अन्तरघात र स्थानीय तहमा स्पष्ट समर्थन नदेखिँदा उनको यात्रा सहज देखिँदैन ।
मौन मतदाताको गणित
यस क्षेत्रमा ५६ हजार २२२ पुरुष, ४९ हजार ४२२ महिला र अन्य दुई जना गरी कुल १ लाख ५ हजार ६४६ मतदाता छन् । जातीय, सांस्कृतिक र सामाजिक विविधताले यहाँ ‘साइलेन्ट भोट’ निर्णायक हुने विश्वास गरिएको छ ।
अघिल्ला नतिजाले दिएको संकेत
२०७९ सालको निर्वाचनले महोत्तरी १ को राजनीतिक चरित्र स्पष्ट देखाएको थियो । प्रत्यक्षतर्फ एमालेका लक्ष्मी महतो कोइरीले २३ हजार ४०२ मत ल्याएर जित्दा समानुपातिकतर्फ एमालेले मात्र १२ हजार १६७ मत पाएको थियो । यसले पार्टीभन्दा उम्मेदवार प्राथमिकतामा परेको देखाउँछ ।
उता प्रत्यक्षमा पराजित माओवादी केन्द्रका गिरिराजमणि पोखरेलको पार्टीले समानुपातिकतर्फ १५ हजार ३९४ मत ल्याएर अग्रस्थान हासिल गरेको थियो । यसले दल प्रति समर्थन भएपनि उम्मेदवार प्रति असन्तोष रहेको संकेत गर्छ ।
कांग्रेसको हकमा संगठनात्मक कमजोरी झनै प्रस्ट देखिन्छ । बागी उम्मेदवार पोषण थापाले प्रत्यक्षतर्फ ७ हजार ८१२ मत ल्याउँदा कांग्रेसले समानुपातिकतर्फ मात्र ४ हजार ७४८ मत पाएको थियो । रास्वपाको केस पनि फरक छैन, उम्मेदवारले प्रत्यक्षमा २ हजार ६४ मत ल्याउँदा समानुपातिकतर्फ घण्टी चिन्हले ६ हजार १२६ मत पाएको थियो ।
यी सबै तथ्य र प्रवृत्तिले के पुष्टि गर्छ भने महोत्तरी १ मा चुनाव पार्टीको शक्ति प्रदर्शन होइन, उम्मेदवारको सामाजिक स्वीकार्यता र विश्वासको परीक्षा हो । यहाँ मतदाता अन्तिम क्षणसम्म मौन रहन्छन्, र निर्णायक मत ‘साइलेन्ट भोट’का रूपमा खस्छ ।




