सर्लाही । सर्लाहीसहित मधेशका जिल्लाहरूमा दुई दिनदेखि पुन: बाक्लो हुस्सु र कुहिरो लागेसँगै चिसो बढ्दा जनजीवन प्रभावित भएको छ । बिहिबार बिहानैदेखि दृश्यता अत्यन्तै कम हुँदा स्थानीयले दैनिक कामकाजमा कठिनाइ भोग्नुपरेको छ ।
आज बिहान १०० मिटरभन्दा अगाडिको दृश्य समेत प्रस्ट नदेखिने गरी बाक्लो हुस्सु लागेको थियो । स्याँठ चलिरहेकाले चिसो झन् बढेको महसुस गरिएको छ । बुधबार पनि बिहानभर यस्तै अवस्था रहेकामा दिउँसो भने मौसम खुलेर घाम लागेको थियो ।
पुस महिनाभर चलेको शीतलहरका कारण मधेशमा जनजीवन मात्रै होइन, कृषि उत्पादनमा समेत असर परेको किसानहरूले बताएका छन् । लामो समयको चिसोले तोरी, आलु लगायत दलहन तथा तेलहन बालीमा उत्पादन घटेको उनीहरूको भनाइ छ ।
माघ सुरु भएसँगै तापक्रम क्रमशः बढ्दै गएको अवस्थामा बुधबारदेखि पुनः हुस्सु कुहिरो बाक्लिन थालेको हो । यसले विद्यालय जाने बालबालिका, ज्येष्ठ नागरिक, दीर्घरोगी, मजदुर, किसान र अत्यावश्यक कामका लागि यात्रा गर्नुपर्नेहरूलाई बढी असर पारेको छ ।
मौसम प्रतिकूल भएपछि पूर्व–पश्चिम राजमार्गसहित सर्लाहीका भित्री सडकहरूमा सवारी साधनहरू दिउँसै बत्ती बालेर चलिरहेका छन् । दृश्यता कम भएकाले यात्रु र चालक दुवै सतर्क देखिएका छन् ।




