रौतहट । रौतहटको गढीमाई नगरपालिकाले बागमती नदीबाट बालुवा, गिट्टी उत्खनन गर्न प्रक्रिया अगाडि बढाएको विरोधमा स्थानीय वासीले बिहिबार नगरपालिका कार्यालयमा तालाबन्दी गरेका छन् ।
नगरपालिकाले स्थानीय सरोकारवाला, जनप्रतिनिधि तथा प्रभावित समुदायसँग पर्याप्त छलफल र सहमति नगरी उत्खनन गर्न खोजेको आरोप लगाउँदै आक्रोशित स्थानीयले समनपुरस्थित गढीमाई नगरपालिकाको कार्यपालिका कार्यालयको मुख्य गेटमा ताला लगाएका हुन् ।
स्थानीयका अनुसार अव्यवस्थित ढङ्गले गरिने बालुवा, गिट्टी उत्खननले बागमती नदीको प्राकृतिक संरचना बिग्रने, कृषि योग्य जमीन कटान हुने तथा नदी किनारका बस्तीहरू जोखिममा पर्ने भएकाले विरोध गर्न बाध्य भएको बताएका छन् ।
उनीहरूले वातावरणीय प्रभाव मूल्याङ्कन, पारदर्शिता र जनसहभागिता विना उत्खनन स्वीकार्य नहुने स्पष्ट पारेका छन् । घटनाको जानकारी पाए लगत्तै इलाका प्रहरी कार्यालय, गरुडाबाट खटिएको प्रहरी टोलीले स्थानीयसँग संवाद गर्दै स्थिति नियन्त्रणमा लिएको थियो ।
प्रहरीको पहलपछि वातावरण शान्त बनेको र कार्यपालिका कार्यालयमा लगाइएको ताला खोलिएको जनाइएको छ । प्रहरीले दुवै पक्षलाई संयम अपनाउन आग्रह गर्दै शान्ति–सुरक्षा कायम राखेको छ । उता नगरपालिकाले स्थानीयको माग र चिन्तालाई गम्भीरतापूर्वक लिने प्रतिबद्धता जनाएको छ ।
यस विषयमा नगरपालिकाबाट आधिकारिक निर्णय र आगामी कदम बारे अझै स्पष्टता नआइसकेको अवस्थामा स्थानीयवासीले पर्यावरण संरक्षण, पारदर्शिता र जनसहभागिता सुनिश्चित नभएसम्म विरोध जारी राख्ने चेतावनी दिए ।




