बैतडी । बैतडीमा बेहुली लिएर फर्किँदै गरेको बस दुर्घटना हुँदा ८ जनाको ज्यान गएको छ । सुदूरपश्चिम प्रदेश ०२–००१ ख १११९ नम्बरको बस पुर्चौँडी नगरपालिका ७ स्थित बडगाउँ मोडमा दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय बैतडीले जनाएको छ ।
जिल्ला प्रहरी कार्यालय बैतडीका प्रहरी निरीक्षक बलदेव बडुका अनुसार बस पुर्चौँडी ७ भवनेबाट बेहुली लिएर बझाङको सुनकुडातर्फ फर्किने क्रममा दुर्घटनामा परेको हो ।
दुर्घटनामा बझाङ बित्थडचिर ७ का ४० वर्षीय केशवराज जोशी, १३ वर्षीय अशोकराज जोशी, ३५ वर्षीय बसन्त जोशी, केदारस्युका ६० वर्षीय मोहनदेव भट्ट, जयपृथ्वी ७ का ४० वर्षीय वसन्तराज रतलाको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ ।
यस्तै बैतडी पुर्चौँडी ७ की ४० वर्षीया पुष्पा अवस्थीको घटनास्थलमै मृत्यु भएको थियो । यस्तै, ४१ वर्षीय विष्णुदत्त जोशी र ४२ वर्षीय नरेशराज जोशीको उपचारका क्रममा मृत्यु भएको छ ।
दुर्घटनामा परेका ४५ जनालाई उद्धार गरी उपचारका लागि विभिन्न अस्पतालमा पठाइएको प्रहरीले जनाएको छ । दुर्घटनाको कारण बारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय बैतडीले जनाएको छ ।






