रौतहट । रौतहट क्षेत्र नम्बर २ मा बिहिबार भएको ४ वर्षीया बालिका मृत्यु घटनामा जोडिएका कार चालकविरुद्ध ५ दिन म्याद थप भएको छ । बालिकालाई ठक्कर दिने बा १५ च ४२४४ नम्बरको कारका चालक परोहा नगरपालिका ३ घर भएका २७ वर्षीय शेख मुस्ताखविरुद्ध प्रहरीले अदालतबाट पाँच दिनको म्याद थप लिएको हो ।
जिल्ला प्रहरी कार्यालय रौतहटका प्रवक्ता तथा डीएसपी विष्णु प्रदीप बस्यालले अदालतले ५ दिन हिरासत राखेर अनुसन्धान गर्न म्याद लिएको जानकारी दिए । बिहिबार दिउँसो २ बजेतिर रौतहटको इशनाथ नगरपालिका ३ मठिया टोलमा चार वर्षीया बालिका अल्फा खातुनलाई रास्वपाको चुनावी अभियानमा प्रयोग गरिएको कारले किच्दा उनको ज्यान गएको थियो ।
उक्त कार राष्ट्रिय स्वतन्त्र पार्टीका रौतहट क्षेत्र नम्बर २ का उम्मेदवार शेख सगिरको नाममा रहेको पाइएको छ । उनकै चुनावी प्रचारमा खटिएको बेला कारले बालिकालाई किचेको थियो ।




