जनकपुरधाम । मधेश प्रदेश सरकारले सुरु गरेको ‘मुख्यमन्त्री बेटी पढाउ, बेटी बचाउ’ कार्यक्रममा चरम दुरुपयोग भएको पाइएको छ । तत्कालीन मुख्यमन्त्री लालबाबु राउत नेतृत्वको पहिलो सरकारले सुरु गरेको अभियान अलपत्र परेको हो ।
‘मुख्यमन्त्री बेटी पढाउ, बेटी बचाउ’ कार्यक्रम अन्तर्गत २७ हजारभन्दा बढी साइकलमध्ये ४ हजारभन्दा बढी साइकल अहिले पनि गोदाममै थन्किएका छन् । ती लाखौं रुपैयाँका साइकलहरू वितरण नगरी जनकपुरधास्थित चुरोट कारखानाको गोदाममा थन्किएका हुन् ।
मधेस प्रदेशमा छोरीको शिक्षालाई प्रोत्साहन गर्ने उद्देश्यले सुरु गरिएको यो कार्यक्रम प्रभावकारी नभएको पनि देखिएको छ । कार्यक्रम अन्तर्गत खरिद गरिएका ४ हजारभन्दा बढी साइकल वर्षौंदेखि गोदाममै थन्किएका छन् ।
साइकल वितरण योजना, लाभग्राही पहिचान र अनुगमन कमजोर हुँदा ठूलो संख्यामा साइकल प्रयोगमै आउन सकेका छैन । लामो समयदेखि प्रयोगविहीन रहँदा साइकल बिग्रने जोखिम बढेको छ भने सरकारी स्रोतको प्रभावकारी उपयोगमाथि प्रश्न उठेको छ ।
छोरीहरूलाई विद्यालयसम्म सहज पहुँच पुर्याउने उद्देश्यले सुरु गरिएको कार्यक्रम प्रदेश सरकार परिवर्तन र प्रशासनिक लापरवाहीका कारण लक्ष्य अनुसार अघि बढ्न नसकेको सरोकारवालाहरूको भनाइ छ । शिक्षामा लगानी भनिएपनि कार्यक्रम घोषणामै सीमित हुने प्रवृत्ति दोहोरिँदा ‘बेटी पढाउ’ अभियानको मर्म नै ओझेलमा पर्ने खतरा देखिएको छ ।




