सर्लाही । सर्लाहीको ईश्वरपुर नगरपालिका ७ पोखरी टोलका एक युवक मृत अवस्थामा फेला परेका छन् । २० वर्षीय युवक अनिल महतो पोखरीमा मृत अवस्थामा फेला परेका हुन् । सोमबार रातिदेखि बेपत्ता भएका उनी बुधबार बिहान आफ्नै घरबाट करिब एक किलोमिटर टाढा रहेको पोखरीमा मृत भेटिएका हुन् ।
जिल्ला प्रहरी कार्यालय सर्लाहीका प्रवक्ता एवम् डिएसपी सरोज राईका अनुसार, सोमबार राति घरबाट निस्किएका अनिल मंगलबारसम्म पनि सम्पर्कमा नआएपछि परिवारले खोज तलास सुरु गरेको थियो । खोजी गर्दा फेला नपरेपछि मंगलबार प्रहरीमा निवेदन दिइएको थियो ।
बुधबार दिउँसो स्थानीयले पोखरीमा शव देखेपछि प्रहरीलाई जानकारी गराएका थिए । मृतकको साथबाट मोबाइल फोन समेत बरामद भएको प्रहरीले जनाएको छ । मृतक अनिल लेबरको रूपमा राजमिस्त्रीको काम गर्दै आएको परिवारले जनाएको छ । शव पोस्टमार्टमका लागि प्रादेशिक अस्पताल मलंगवा ल्याइएको थियो ।
पोस्टमार्टम भएपनि निष्पक्ष र न्यायिक छानबिनको माग गर्दै परिवारले शव बुझ्न अस्वीकार गरेको छ । अनिलको बुधबार नै बिहेको छेका तय हुने कार्यक्रम रहेको थियो । विवाहको तयारी भइरहेका बेला अचानक घटेको घटनाले परिवार र गाउँ शोकमा डुबेको छ । घटना बारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।




