सिरहा । सिरहामा स्थानीय तहका निर्वाचित जनप्रतिनिधिले निर्वाचन आचारसंहिता उल्लंघन गरेको आरोप लागेको छ । लहान नगरपालिकाका नगर प्रमुख महेशप्रसाद चौधरी र लक्ष्मीपुर पतारी गाउँपालिकाका अध्यक्ष चतुरानन्द ठाकुरले सरकारी सवारी साधन प्रयोग गरी आफ्नै पार्टीका उम्मेदवारको पक्षमा चुनावी प्रचार तथा मत मागेको आरोप लागेको हो ।
आचारसंहिता उल्लंघन भएको विषयमा निर्वाचन आचारसंहिता अनुगमन अधिकृतले सम्बन्धित नगर प्रमुख र गाउँपालिका अध्यक्षसँग लिखित स्पष्टीकरण सोध्ने तयारी गरेको छ । स्थानीयका अनुसार लहान नगरपालिकाका नगर प्रमुख चौधरीले स १ झ ५१० नम्बरको सरकारी गाडी प्रयोग गरी चुनावी सभामा सहभागिता जनाएका थिए ।
सो कार्यक्रममा उनले नेपाली कांग्रेसका सिरहा क्षेत्र नम्बर १ का प्रतिनिधिसभा उम्मेदवार रामसुन्दर चौधरीको पक्षमा मत मागेको दृश्य सार्वजनिक भएको बताइएको छ ।
यस्तै लक्ष्मीपुर पतारी गाउँपालिकाका अध्यक्ष चतुरानन्द ठाकुरले पनि स १ झ ५०६ नम्बरको सरकारी गाडी प्रयोग गरी लक्ष्मीपुर पतारी गाउँपालिका ५ स्थित सितापुरमा आयोजित चुनावी कार्यक्रममा सहभागिता जनाएका थिए ।
अध्यक्ष ठाकुरले आफ्नै पालिकाभित्र नेपाली कांग्रेसको चुनावी कार्यक्रममा सहभागी भएको आरोप छ । निर्वाचन आचारसंहिता अनुसार चुनावी गतिविधिमा सरकारी सवारी साधन प्रयोग गर्न पूर्ण रूपमा निषेध गरिएको छ ।
आचारसंहिताको परिच्छेद ३, दफा ५ (क) को उपदफा (४) मा स्थानीय तहका पदाधिकारीहरूले आफू बहाल रहेको स्थानीय तह बाहेक अन्य स्थानीय तहमा मात्र पार्टीको प्रचार प्रसारमा सहभागी हुन सक्ने व्यवस्था छ ।




