काठमाडौं । अहिले विश्वभर कोरोनाको तेस्रो लहरको चिन्ता छ । धेरै देशहरुले तेस्रो लहरको संक्रमण फैलन नदिन लकडाउन नीति अवलम्बन गरिरहेका छन् भने कति देशहरुले खोप वितरणलाई तीव्र बनाएका छन् । खोपले संक्रमण दर घटाउने अध्ययनबाट पत्ता लागेपछि खोपलाई प्राथमिकता दिन थालिएको हो । नेपालमा पनि खोप नीति अवलम्बन गरी लकडाउन निकै खुकुलो बनाइएको छ ।
भारतीय गृह मन्त्रालयले गठन गरेको समितिले अक्टोबरमा त्यहाँ कोरोनाको तेस्रो लहर आउन सक्ने आशंका गरेको छ । उक्त समितिले बालबालिकाका लागि राम्रो चिकित्सा सुविधाको तयारीमा जोड दिँदै बालबालिकामा पनि वयस्कलाई जतिकै खतरा हुन सक्ने अनुमान गरेको छ ।
दिल्लीको गंगाराम अस्पतालको मेडिसिन विभागको सिनियर कन्सल्टेन्ट डा.एम वलीका अनुसार भारतमा बालबालिकाको जनसंख्या एक तिहाई छ, र यो समूहले अझै पनि भ्याक्सिन पाइरहेको अवस्था छैन । वैज्ञानिकले पनि यस विषयमा चिन्ता जताइरहेका छन् । बालबालिकाको रेखदेखका लागि आधारभूत ढाँचा पनि मजबुत छैन । यद्यपी बालबालिकालाई तेस्रो लहरले गम्भीर बनाउँछ नै भन्ने पुष्टि भइसकेको छैन ।
हालसालै ड्रग कन्ट्रोलर जनरल अफ इन्डियाले जाइड्स कैडिलाको भ्याक्सिन इमरजेन्सी प्रयोगका लागि स्वीकृति दिएको छ । यसपछि १२ देखि १८ वर्षसम्मका बालबालिकालाई खोप दिने कार्य छिट्टै सुरु हुन सक्छ । अखिल भारतीय आयुर्वेद विज्ञान संस्दान, नयाँ दिल्लीका निर्देशक डा. रणदीप गुलेरियाका अनुसार भारत बायोटेकको भ्याक्सिन भारतमा सेप्टेम्बर महिनामा बच्चाका लागि उपलब्ध हुन सक्छ ।
अहिलेसम्म २–१८ वर्षका बालबालिकामा भएको दोस्रो र तेस्रो चरणको ट्रायलको डाटा आउँदैछ । फाइजर खोप भारतमा स्वीकृति मिल्नेबित्तिकै बच्चाका लागि विकल्प हुन सक्छ । फाइजर मात्र एक भ्याक्सिन हो जुन दुनियाँभरका बच्चालाई दिन थालिएको छ ।
खोप उपलब्ध भएमा बालबालिकाहरु पुनः विद्यालय जान सक्नेछन् । पद्यश्री अवार्डबाट सम्मानित डा. वली बालबालिकाको रोग प्रतिरोधक क्षमता बढाउन अभिभावकले ध्यान दिन जरुरी छ ।
रोग लाग्न नदिन सरसफाइ एकदमै महत्वपूर्ण भएको उनी बताउँछन् । डा एम वली कुनै रोग बाट बच्नका लागि प्रतिरक्षा बढाउनमा जोड दिन्छन् । इम्युनिटी बढाउन यस्तो छ उनले दिएको सुझाव :
– घरमा बालबालिका र बिरामी सदस्यबीच दुरी बनाएर राख्नुहोस् ।
– बालबालिकालाई जंक फुडबाट टाढा राख्नुहोस्, यसले उनीहरुलाई हानी गर्छ ।
– बालबालिकालाई मास्क लगाउने बानी बसाल्नुहोस् ।
– उनीहरुलाई तत्काल विद्यालय नपठाउनुहोस् ।
– अण्डा, माछामासु, फलफुल, प्रोटिनयुक्त खानेकुरा प्रशस्त खुवाउने ।
– दुध र पनीर खाने बानी बसाउने ।
– कोदो, मकै, गहुँ, चनाको सुप वा हलुवा बनाएर खुवाउने, यसको रोटी र परौठा बनाएर पनि बच्चालाई खुवाउन सकिन्छ ।
– भिटामिन सीका लागि कागती पानी पिलाउनुहोस्, र फल खुवाउनुहोस् । भिटामिनको प्राकृतिक स्रोत भएका सबै खानेकुरा खुवाउनुहोस् ।






