झापा । झापाको बिर्तामोड नगरपालिका २ चारपाने लालमाटीस्थित ओमकार रेडिमेन्स कङ्क्रिट प्रा.लि.मा कार्यरत एक कामदारको करेन्ट लागेर मृत्यु भएको छ ।
गएराति करिव ११:३० बजे मिक्सर मेसिन सफा गर्ने क्रममा करेन्ट सट भई गम्भीर घाइते भएका शिवसताक्षी नगरपालिका ४ निवासी २८ वर्षीय राजीव राजवंशीको उपचारका क्रममा मृत्यु भएको हो । उनी उक्त उद्योगमा हेल्परका रूपमा कार्यरत थिए ।
प्रहरीका अनुसार मिक्सर मेसिन सफा गर्ने क्रममा मेसिनमा हिल्टी प्रयोग गर्दा अचानक करेन्ट सट भई राजवंशी गम्भीर घाइते भएका थिए । उनलाई उपचारका लागि बिर्तामोडस्थित बीएन्डसी अस्पताल लगिएको थियो, जहाँ उपचारकै क्रममा मृत्यु भएको अस्पतालले जनाएको छ ।
घटना बारे माघ २७ गते राति १२:३० बजे अस्पतालमार्फत इलाका प्रहरी कार्यालय अनारमनीलाई जानकारी प्राप्त भएको थियो । सूचनापछि प्रहरी वरिष्ठ हवल्दार भक्ति प्रसाद घिमिरेको कमाण्डमा द्रुत प्रतिक्रिया टोली घटनास्थल तथा अस्पताल पुगेको प्रहरीले जनाएको छ ।
मृतकको शव हाल सोही अस्पतालको शवगृहमा राखिएको छ । आफन्तलाई घटना बारे जानकारी गराइसकिएको र थप अनुसन्धान तथा कानुनी प्रक्रिया अघि बढाउन माघ २७ गते बिहान पुन: प्रहरी टोली खटिने प्रहरीले जनाएको छ ।






