रौतहट । रौतहटको देवाही गोनाही नगरपालिकामा खेतमा घाँस काटेको विषयलाई लिएर भएको विवाद हिंसात्मक बनेपछि तीन जना महिला गम्भीर घाइते भएका छन् । घटनामा संलग्न रहेको आरोपमा एक जना पुरुषलाई प्रहरीले पक्राउ गरेको छ ।
सोमबार राति वडा नम्बर ५ टीकुलिया गाउँमा भएको सामूहिक कुटपिटबाट महेश तिवारीकी २५ वर्षीया छोरी अस्मिता तिवारी, १५ वर्षीया सुस्मिता तिवारी तथा छिमेकी बचेलाल मुखियाकी श्रीमती ४० वर्षीया अनतिया बिन गम्भीर घाइते भएका हुन् ।
महेश तिवारीका भतिज राजेश तिवारीका अनुसार अनतिया बिनको टाउकोमा गहिरो चोट लागेको छ भने अस्मिता र सुस्मिताको शरीरका विभिन्न भागमा चोट पटक लागेको छ ।
घटना लगत्तै घाइते तीनै जनालाई एम्बुलेन्समार्फत उपचारका लागि बारा जिल्लाको कलैयास्थित ए-प्लस अस्पताल लगिएको थियो । अस्पताल स्रोतका अनुसार उनीहरूलाई आईसीयूमा राखेर उपचार भइरहेको छ र हाल अवस्था क्रमश: सुधार हुँदै गएको छ ।
घटनामा संलग्न भएको आरोपमा स्थानीय शंकर राय यादवका ४० वर्षीय छोरा शम्भु राय यादवलाई पक्राउ गरी इलाका प्रहरी कार्यालय गरुडाको नियन्त्रणमा राखिएको रौतहट प्रहरी प्रमुख एसपी सिताराम रिजालले जानकारी दिए ।
प्रहरीका अनुसार महेश तिवारीको तोरी खेतमा आइतबार शंकर राय यादवको परिवारका महिलाहरूले घाँस काटेका थिए । पाक्न लागेको तोरीमा क्षति पुगेको भन्दै सोमबार साँझ अस्मिता तिवारीले शंकर रायसँग गुनासो गरेपछि विवाद सुरु भएको थियो ।
विवाद चर्किँदै जाँदा शंकर राय यादव, उनका छोरा शम्भु यादव र परिवारका केही महिलाहरू तिवारीको घरभित्र प्रवेश गरी दुवै छोरीमाथि कुटपिट गरेको पीडित पक्षको भनाइ छ । कुटपिट रोक्न गएकी छिमेकी अनतिया बिनमाथि पनि आक्रमण भएको जनाइएको छ ।
जिल्ला प्रहरी कार्यालय रौतहटले घटना बारे आवश्यक अनुसन्धान भइरहेको जनाएको छ । घटनापछि फरार रहेका मुख्य आरोपी शंकर राय यादवले राति आफू घाइते भएको भन्दै एम्बुलेन्समार्फत उपचारका लागि गएको प्रत्यक्षदर्शीहरूले बताएका छन् ।




