काठमाडौं । प्रतिनिधिसभा निर्वाचन नजिकिँदै जाँदा धादिङ निर्वाचन क्षेत्र नम्बर २ फेरि एकपटक राजनीतिक बहसको केन्द्रमा छ । पहाडी बस्ती, कृषिमा आधारित अर्थतन्त्र, वैदेशिक रोजगारीमा निर्भर परिवार र पूर्वाधार अभावले जकडिएको यो क्षेत्र यतिबेला चुनावी चहलपहलले तातेको छ ।
निर्वाचन आयोगका अनुसार यस क्षेत्रमा २४ जना उम्मेदवार प्रतिस्पर्धामा छन् । ९ जना स्वतन्त्रसहित विभिन्न दलका उम्मेदवार घरदैलो, भेटघाट र साना समूह छलफलमा व्यस्त छन् । तर, बहुकोणीय प्रतिस्पर्धाबीच यसपटक प्रगतिशील लोकतान्त्रिक पार्टी (प्रलोपाका) उम्मेदवार वीरबहादुर तामाङको सक्रियता र अभियानले विशेष चर्चा पाउन थालेको छ ।
गाउँ गाउँमा केन्द्रित अभियान
वीरबहादुर तामाङ परम्परागत शक्ति संरचनाभन्दा फरक शैलीमा मतदाता माझ पुगिरहेका छन् । उनले विकासका ठूला नाराभन्दा स्थानीय आवश्यकतामा आधारित प्रत्यक्ष संवादलाई प्राथमिकता दिएका छन् ।
स्थानीय स्तरमा लामो समयदेखि सामाजिक काममा सक्रिय रहँदै आएका तामाङले “वाचा होइन, कार्यान्वयन”को नारा अघि सारेका छन् । उनी विशेष गरी युवापुस्ता र वैदेशिक रोजगारीबाट फर्किएका समुदायसँग संवाद बढाइरहेका छन् ।
उतार चढावपूर्ण चुनावी इतिहास
धादिङ २ को राजनीतिक इतिहास स्थिर छैन । वि.सं. २०४८ देखि २०७९ सम्मका निर्वाचन परिणामले यहाँ मतदाताले पटक पटक दल र पात्र परिवर्तन गरेको देखिन्छ । एमाले, कांग्रेस, माओवादी सबैले फरक फरक समयमा जित हात पारेका छन् ।
२०७९ मा नेपाली कांग्रेस विजयी भएपनि त्यसअघि एमालेको बलियो प्रभाव थियो । २०६४ मा माओवादीको लहरले परिणाम बदलेको थियो । यो क्रमले यहाँको मतदाता कुनै एक दल प्रति स्थायी रूपमा प्रतिबद्ध नभई परिस्थिति अनुसार निर्णय गर्ने प्रवृत्तिमा रहेको संकेत गर्छ ।
यही पृष्ठभूमिमा प्रलोपाका तामाङ आफूलाई वैकल्पिक र भरोसायोग्य विकल्पका रूपमा प्रस्तुत गरिरहेका छन् ।
परम्परागत दलको रणनीति
नेकपा एमालेका उम्मेदवार संगठन संरचना र परम्परागत मतदातामा निर्भर देखिन्छन् भने नेपाली कांग्रेस अघिल्लो नतिजाबाट प्राप्त मनोबल जोगाउने प्रयासमा छ । माओवादी पृष्ठभूमिबाट पुनर्गठित दलले पनि प्रतिस्पर्धी उपस्थिति जनाउन खोजिरहेको छ ।
राष्ट्रिय स्वतन्त्र पार्टी र अन्य साना दलहरू असन्तुष्ट मत तान्ने रणनीतिमा छन् । स्वतन्त्र उम्मेदवारहरूको उल्लेख्य उपस्थितिले परम्परागत दलको मत बाँडिन सक्ने आकलन गरिएको छ ।
ज्योतिषीय विश्लेषण : प्रतिस्पर्धा कडा
ज्योतिष सुदीप दाहालका अनुसार यस क्षेत्रको निर्वाचन अत्यन्त कडा हुने संकेत देखिन्छ । “धादिङ २ मा यस पटकको प्रतिस्पर्धा निकै रोचक र कडा हुनेछ । ग्रहस्थितिले स्पष्ट जित हार देखाइरहेको छैन । जसले पनि जित्न सक्छन् निर्वाचन,” उनले बताएका छन् । उनका अनुसार मतदाताको अन्तिम निर्णय नै निर्णायक बन्नेछ र परिणाम अन्तिम घडीसम्म अनिश्चित रहन सक्छ ।
को को छन् उम्मेदवार ?
यहाँ नेपाली कांग्रेसका रमेशप्रसाद धमला, नेकपा एमालेका धनबहादुर घले, नेपाली कम्युनिष्ट पार्टी ‘नेकपा’का रामबहादुर भण्डारी, राष्ट्रिय स्वतन्त्र पार्टी ‘रास्वपा’का बोधनारायण श्रेष्ठ, प्रगतिशिल लोकतान्त्रिका पार्टी ‘प्रलोपा’का वीरबहादुर तामाङ, राष्ट्रिय प्रजातन्त्र पार्टीका सुरेश रिजाल, जनता समाजवादी पार्टीका नोरमान तामाङ, उज्यालो नेपाल पार्टीका अमिर तामाङ, नेकपा माओवादीका कृष्णबहादुर घतानी प्रतिस्पर्धामा छन् ।
त्यस्तै नेपाल मजदुर किसान पार्टी, मंगोल नेशनल अर्गनाइजेसन, संयुक्त नागरिक पार्टी, नेशनल रिपब्लिक नेपाल, श्रम संस्कृति पार्टी, मितेरी पार्टी नेपाल र आम जनता पार्टीका उमेदवार पनि मैदानमा छन् । स्वतन्त्र आकांक्षीमा उज्वल श्रेष्ठ, कृष्णप्रसाद कोइराला, दामोदर रिजाल, दीपक अधिकारी, भरत ढुंगाना, रुद्रबहादुर गेलाङ मगर, शिवराज सापकोटा र शिवनिधि खनाल छन् ।
विश्वासको पुन: परीक्षण
धादिङ २ का मतदाताका लागि चुनावी मुद्दा नयाँ होइनन् । सडक, स्वास्थ्य, शिक्षा, खानेपानी र रोजगारी पहिले देखिकै समस्या हो र अहिले पनि यथावत छ । तर, यस पटक मतदाता दलभन्दा बढी काम गर्ने क्षमतामा जोड दिन थालेको स्थानीय विश्लेषकहरूको भनाइ छ ।
यही परिवेशमा वीरबहादुर तामाङको अभियानले “स्थानीय नेतृत्व, स्थानीय समाधान”को सन्देश अघि सारेको छ । बहुकोणीय प्रतिस्पर्धा बीच सानो मतान्तरले पनि परिणाम उल्टिन सक्ने अवस्था रहेकोले यस क्षेत्रको चुनावलाई विश्वासको पुन: परीक्षणका रूपमा हेरिएको छ ।
धादिङ २ मा यस पटकको प्रतिस्पर्धा विचारधाराको स्थिर लडाइँभन्दा बढी जनविश्वास जित्ने दौड जस्तो देखिएको छ । परिणाम जे आएपनि बदलिँदो जनमतको संकेत भने स्पष्ट छ- मतदाता अब काम र जवाफदेहिताको खोजीमा छन् ।






