ललितपुर । ललितपुरको कोन्ज्योसोम गाउँपालिका १ बाउनडाँडामा गएराति मिनी ट्रक दुर्घटना हुँदा चार जनाको मृत्यु भएको छ । लेलेबाट बालुवा लिएर कालेश्वरतर्फ जाँदै गरेको मिनी ट्रक दुर्घटना भएको हो ।
बागमती प्रदेश ०१–००४ क ६२२८ नम्बरको मिनी ट्रक राति करिब ९ बजे सडकबाट अन्दाजी ५ सय मिटर तल खसेर दुर्घटना भएको प्रहरीले जनाएको छ । दुर्घटनामा ट्रक चालक गोदावरी नगरपालिका ६ का ५२ वर्षीय गणेश खड्का र सोही ठाउँका ४२ वर्षीय गणेश थापाको घटनास्थलमै मृत्यु भएको हो ।
ट्रकमा सवार अन्य दुई पुरुषको पाटन अस्पतालमा उपचारका क्रममा मृत्यु भएको छ । उनीहरूलाई अस्पताल पुर्याउना साथ चिकित्सकले मृत घोषणा गरेका थिए । मृतक दुई जनाको सनाखत हुन बाँकी रहेको प्रहरीले जनाएको छ ।






