जनकपुरधाम । राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगले सार्वजनिक गरेको स्थानीय तहहरूको कार्यसम्पादन मूल्यांकन प्रतिवेदन अनुसार धनुषा जिल्लामा जनकपुरधाम उपमहानगरपालिका अग्रस्थानमा रहेको छ । मधेश प्रदेशको राजधानी समेत रहेको जनकपुरधाम उपमहानगरपालिकाले ५१.५८ अंक प्राप्त गर्दै जिल्लाभित्र पहिलो स्थान हासिल गरेको हो ।
जिल्लाका १८ स्थानीय तहमध्ये ११ नगरपालिका र ६ गाउँपालिका छन् । तीमध्ये लक्ष्मीनियाँ गाउँपालिकाले ४९.०२ अंकसहित दोस्रो स्थान ओगटेको छ । नगरपालिकातर्फ गणेशमान चारनाथ नगरपालिकाले ४७.९० अंक प्राप्त गरेको छ । विदेह नगरपालिकाले ४६.२७, शहीदनगर नगरपालिकाले ४२.२५, क्षिरेश्वरनाथ नगरपालिकाले ३९.८५ र धनुषाधाम नगरपालिकाले ३९.२२ अंक हासिल गरेका छन् ।
यस्तै कमला नगरपालिकाले ३८.७४, मिथिला बिहारी नगरपालिकाले ३८.१५, मिथिला नगरपालिकाले ३७.४५, हंसपुर नगरपालिकाले ३५.७६, नगराइन नगरपालिकाले ३५ तथा सबैला नगरपालिकाले ३४ अंक प्राप्त गरेका छन् । गाउँपालिकातर्फ लक्ष्मीनियाँ अग्रस्थानमा रहँदा बटेश्वर गाउँपालिकाले ४७.८८ अंक ल्याएको छ । जनकनन्दिनी गाउँपालिकाले ४५.९३ र मुखियापट्टी मुसहरनिया गाउँपालिकाले ४५ अंक प्राप्त गरेका छन् । औरही गाउँपालिकाले ४०.३४ अंक हासिल गरेको छ ।
यता, धनौजी गाउँपालिका ३२.८१ अंकसहित जिल्लाभरि सबैभन्दा कमजोर कार्यसम्पादन गर्ने स्थानीय तह बनेको छ । आयोगले विभिन्न सूचकका आधारमा स्थानीय तहहरूको वित्तीय अनुशासन, राजस्व व्यवस्थापन, बजेट कार्यान्वयन, पारदर्शिता तथा प्रशासनिक कार्यक्षमताको मूल्यांकन गरी अंक निर्धारण गर्दै नतिजा सार्वजनिक गरेको जनाएको छ ।




