रौतहट । जिल्ला प्रहरी कार्यालय रौतहटले माघ महिनामा सम्पादित मुख्य कार्यहरूको प्रगति विवरण सार्वजनिक गरेको छ । प्रेस विज्ञप्तिमार्फत सार्वजनिक विवरण अनुसार महिनाभर जिल्लामा अपराध नियन्त्रण, राजस्व संकलन र समुदाय–प्रहरी साझेदारी कार्यक्रमलाई प्राथमिकतामा राखिएको जनाएको छ ।
माघ महिनामा जिल्लाभर ७७ वटा विभिन्न प्रकृतिका मुद्दा दर्ता भएका छन् । तीमध्ये ज्यान सम्बन्धी ७, आत्महत्या सम्बन्धी ८, चोरीका २ र सामाजिक अपराधका २३ मुद्दा रहेका छन् । बैंकिङ कसुरका १७ मुद्दा दर्ता भएको उल्लेख गर्दै प्रहरीले आर्थिक अपराध बढ्दो चुनौतीका रूपमा देखिएको विश्लेषण गरेको छ ।
साधारण उजुरी २८४ परेकोमा १७३ फर्छ्यौट भएका छन् भने १११ उजुरी कारबाही प्रक्रियामा रहेका छन् । विभिन्न मुद्दामा संलग्न ४१ जना फरार प्रतिवादीलाई पक्राउ गरिएको कार्यालयका प्रवक्ता डीएसपी विष्णु प्रदीप बस्यालद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।
लागुऔषध सम्बन्धी एक जनालाई पक्राउ गरी उनको साथबाट डाइजेपाम ५०० पिस, फेनारगन ५०० पिस र नुरफिन ५०० पिस बरामद गरिएको प्रहरीले जनाएको छ ।सीमावर्ती जिल्ला भएकाले अवैध भन्सार छली नियन्त्रणमा विशेष सक्रियता अपनाइएको उल्लेख छ ।
माघ महिनामा ६२ लाख ८९ हजार ९३० रुपैयाँ बराबरका अवैध सामान तथा पाँच सवारीसाधन बरामद गरिएको छ। राजस्व छलीतर्फ ६४ हजार ६५० रुपैयाँ बराबरका सामान बरामद भएका छन् । प्राकृतिक स्रोत दोहनमा संलग्न दुई सवारी साधन नियन्त्रणमा लिई ६ हजार रुपैयाँ जरिवाना गरिएको छ ।
९२ सवारी दुर्घटना, पाँचको मृत्यु
माघ महिनामा रौतहटमा ९२ सवारी दुर्घटना भएका छन् । दुर्घटनामा पाँच जनाको मृत्यु भएको छ भने १२९ जना घाइते भएका छन् । ट्राफिक नियम उल्लंघन गर्ने ७४५ सवारीसाधनलाई कारबाही गर्दै ७ लाख ८२ हजार ५०० रुपैयाँ राजस्व संकलन गरिएको जिल्ला ट्राफिक प्रहरी कार्यालय रौतहटका प्रमुख इन्स्पेक्टर राजेन्द्र थापा मगरले बताएका छन् ।
दुर्घटनाको मुख्य कारण चालकको लापरबाही रहेको प्रहरीको विश्लेषण छ । अपराध न्यूनीकरणका लागि समुदाय–प्रहरी साझेदारी कार्यक्रम अन्तर्गत लागूऔषध, आत्महत्या र महिला हिंसाविरुद्ध ५६ सचेतनामूलक कार्यक्रम सञ्चालन गरिएको छ । १२३ प्रहरी परिचालनमार्फत १ हजार २०८ जना लाभान्वित भएका छन् ।
विभिन्न विद्यालयमा आत्महत्या, साइबर अपराध र लैङ्गिक हिंसाविरुद्ध १५ कार्यक्रम सञ्चालन गरी ६५७ विद्यार्थीलाई प्रशिक्षण दिइएको छ ।




