सर्लाही । सर्लाही सदरमुकाम मलंगवामा आइतबार बेलुका भएको गोलीकाण्डले जिल्ला स्तब्ध बनेको छ । जिल्ला पूर्वाधार कार्यालय मलंगवामा कार्यरत ३६ वर्षीय इन्जिनियर प्रमोदकुमार यादव आफ्ना बुवाको काजकिरिया सकेर घरबाट फर्किएकै दिन डेरामा गोली प्रहारको सिकार बनेका हुन् ।
सिराहाको सुखीपुर नगरपालिका ९ वैशाखा स्थायी घर भएका यादव दिउँसो मात्र मलंगवा आइपुगेको प्रहरीले जनाएको छ । सर्लाही प्रहरी प्रमुख एसपी योगेन्द्रकुमार खड्काका अनुसार बुवाको निधनपछि काजकिरिया सम्पन्न गरी आइतबार दिउँसो दुई तीन बजेतिर मलंगवा फर्किएको बुझिएको छ ।
नजिकैबाट गोली प्रहार
स्थानीयका अनुसार मोटरसाइकलमा आएका दुई व्यक्तिले यादवलाई डेरा बाहिर बोलाएका थिए । त्यसपछि नजिकैबाट छातीमा गोली प्रहार गरिएको बताइएको छ । घटनास्थलबाट एउटा खोका बरामद भएको छ । सानो हतियार (पेस्तोल) प्रयोग भएको प्रारम्भिक अनुमान प्रहरीले गरेको छ ।
गोली लागेपछि घरको बरन्डामा ढलेका यादवलाई प्रहरी टोलीले तत्काल प्रादेशिक अस्पताल मलंगवा पुर्याए पनि चिकित्सकले मृत घोषणा गरेका थिए । शव पोस्टमार्टमका लागि सोही अस्पतालमा राखिएको छ ।
कारण अस्पष्ट, सीमा क्षेत्रमा कडाइ
हत्या किन र कसले गर्यो भन्ने विषय अझै खुल्न सकेको छैन । एसपी खड्काले कार्यालय सम्बन्धी वा पारिवारिक कुनै कारण हुन सक्ने आशंका भएपनि ठोस तथ्य फेला नपरेको बताएका छन् । परिवारसँग विस्तृत सोधपुछपछि घटनाको पृष्ठभूमि स्पष्ट हुन सक्ने प्रहरीको अपेक्षा छ ।
मलंगवा नेपाल–भारत सीमासँग नजिक पर्ने भएकाले घटनामा संलग्न व्यक्ति सीमा पारि फरार भएको हुन सक्ने आशंका गरिएको छ । प्रमुख जिल्ला अधिकारी रामुराज कडरियाका अनुसार घटना लगत्तै नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरी परिचालन गरी रातभर खोजी अभियान चलाइएको थियो । तर हालसम्म कोही पक्राउ परेका छैनन् । प्रहरीले आसपासका क्षेत्रका सिसिटिभी फुटेज संकलन गरी अनुसन्धान अगाडि बढाउने तयारी गरेको छ ।
‘विवाद नभएको परिवार’
सुखीपुर नगरपालिकाका मेयर रामऔतार यादवका अनुसार इन्जिनियर प्रमोदकुमारका बुवाको काजकिरिया तीन दिनअघि सम्पन्न भएको थियो । गाउँका सबै समुदायलाई समेटेर गरिएको उक्त कार्यक्रममा परिवारको सक्रिय सहभागिता रहेको उनले बताए ।
“परिवार सम्पन्न र मिलनसार छ, उहाँसँग कसैको विवाद भएको थाहा छैन,” मेयर यादवले बताएका छन् । इन्जिनियर यादव पत्नी र दुई वर्षीया छोरीसँग मलंगवामा कार्यालय नजिकै डेरा गरी बस्दै आएका थिए ।
एक वर्षदेखि पूर्वाधार कार्यालयमा कार्यरत उनीमाथि भएको आक्रमणले स्थानीय बासिन्दामा त्रास र अन्योल सिर्जना गरेको छ । प्रहरीले सूक्ष्म अनुसन्धान जारी राखेको बताएको छ । घटनाको कारण र संलग्न व्यक्तिको पहिचान सार्वजनिक हुन अझै समय लाग्ने देखिन्छ ।






