सिरहा । सिरहाको लहान नगरपालिका १३ घलेटोलमा सोमबार दिउँसो आगलागी हुँदा करिब ३० बिघा क्षेत्रफलमा लगाइएको उखु जलेर नष्ट भएको छ । प्रहरीको प्रारम्भिक विवरण अनुसार, आगलागीबाट स्थानीय २५ किसानको करिब एक करोड १६ लाख रुपैयाँ बराबरको क्षति भएको छ ।
इलाका प्रहरी कार्यालय लहानका प्रमुख प्रहरी नायब उपरीक्षक (डीएसपी) कैलाश राईका अनुसार दिउँसो उखुबारीको मध्यभागबाट आगो सल्किएको थियो । आगलागी भएको खबर पाउने वितिक्कै प्रहरी टोली घटनास्थल पुगेको थियो । स्थानीय बासिन्दाको सहयोगमा आगो मानव बस्तीमा फैलिन नदिइएको डीएसपी राईले बताए ।
गोलबजार नगरपालिकाबाट आएको दमकलको सहयोगमा करिब चार घन्टापछि आगो निभाइएको थियो । लहान नगरपालिकाबाट गएको दकमलको पानी फाल्ने मोटर बिग्रिएपछि गोलबजारबाट सहयोग मगाइएको थियो ।
उखुबारीको मध्यभागबाट आगो सल्किएकाले कसैले चुरोट वा बिँडी पिएर ठुटो फालेको वा नियतवश आगो लगाएको हुन सक्ने प्रहरीको आशंका छ । घटना बारे अनुसन्धान थालिएको डीएसपी राईले बताए । पीडित किसान रामलखन मण्डलले उखु बेचेर घरायसी खर्च र ऋण तिर्ने योजना रहेको दु:खेसो पोखे ।
‘लागत समेत डुब्यो, दोषी पत्ता लगाएर क्षतिपूर्तिसहित कारबाही हुनुपर्छ,’ उनले भने । अर्का किसान कपिलदेव यादवले उखुमा आगो लगाउने जोसुकै भए पनि किसानमाथि अपराध गरेको बताए । उनले आगो लगाउनेलाई कारबाही गर्न माग गरे । उनका अनुसार, उखु रोप्नुअघि र रोपेपछि मलखाद र सिँचाइ उपलब्ध हुँदा प्रतिकट्ठा औसत ३० देखि ३५ क्विन्टल उत्पादन हुन्छ ।
चिनी उद्योगलाई बेच्दा प्रतिक्विन्टल ६२० रुपैयाँ र सरकारी अनुदान ७० रुपैयाँ गरी ६९० रुपैयाँ आम्दानी हुने गर्छ । यस आधारमा ३० बिघा क्षेत्रफलमा करिब १८ हजार क्विन्टल उखु जलेको अनुमान गर्दा क्षति एक करोड २४ लाख २० हजारसम्म पुग्ने देखिएको किसानको भनाइ छ ।






