परासी । पश्चिम नवलपरासीमा चुनाव प्रचार प्रसार कार्यक्रममा उम्मेदवारलाई कुटपिट गर्ने एक जनालाई प्रहरीले पक्राउ गरेको छ । बुधबार बर्दघाट नगरपालिका वडा नम्बर १२ स्थित जमुनिया क्षेत्रमा यस्तो घटना भएको हो ।
घर दैलो गर्दै गरेका नेपाल कम्युनिस्ट पार्टी (माओवादी) क्षेत्र नम्बर १ का उम्मेदवार राजु हरिजन र उनका कार्यकर्तामाथि कुटपिट भएको हो । जिल्ला प्रहरी कार्यालय नवलपरासीका डीएसपी वीरदत्त पन्तका अनुसार तीन जना युवा आएर होहल्ला गर्दै उम्मेदवारमाथि हातपात गरेका थिए ।
कुटपिट गरेको आरोपमा बर्दघाट नगरपालिका वडा नम्बर १३ का २१ वर्षीय अजय गौतमलाई पक्राउ परेका हुन् । सोही घटनामा दुई जना भने फरार रहेको प्रहरीले जनाएको छ ।
पक्राउ परेका गौतमलाई अभद्र व्यवहार तथा कुटपिट गरेको आरोपमा अनुसन्धान अगाडि बढाइएको छ । रास्वपाको क्षेत्रमा आएर किन भोट मागेको भन्दै कुटपिट गरिएको नेपाल कम्युनिस्ट पार्टी (माओवादी) ले जनाएको छ ।






