रौतहट । फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनलाई स्वतन्त्र, निष्पक्ष र शान्तिपूर्ण रूपमा सम्पन्न गराउन रौतहटमा नेपाली सेनाले सुरक्षा कडा बनाएको छ । गौरस्थित नारायणदल गणले सोमबारदेखि जिल्लाका चारै निर्वाचन क्षेत्रमा मोटरसाइकल पेट्रोलिङ सुरु गरेको छ ।
सुरक्षा संवेदनशीलतालाई ध्यानमा राख्दै नेपाली सेनाले पैदल, गाडी र मोटरसाइकल मार्फत नियमित गस्ती गरिरहेको छ । नारायणदल गण, गौरका अनुसार संसदीय निर्वाचन क्षेत्र नम्बर १, २, ३ र ४ मा मेजर (सेनानी) को नेतृत्वमा प्रत्येक क्षेत्रमा एक एक गुल्म फौज परिचालन गरिएको छ । प्रत्येक गुल्ममा करिब ११० जना सैनिक रहने व्यवस्था गरिएको छ ।
जिल्लाका सबै पालिकामा सेना तैनाथ भइसकेको छ । निर्वाचन मिति नजिकिँदै गर्दा सम्भावित सुरक्षा चुनौतीको पूर्वानुमान गर्दै नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरी बलको संयुक्त टोलीले दिन–रात गस्ती सञ्चालन गरिरहेको जनाएको छ ।
सेनाले अति संवेदनशील क्षेत्रहरूमा सुरक्षा उपस्थिति बढाउने, आवश्यक परे अन्य सुरक्षा निकायसँग समन्वय गर्ने, मतपेटिका ढुवानी र मतगणना स्थलको सुरक्षा सुनिश्चित गर्ने जनाएको छ । मतदान प्रक्रिया सम्पन्न भई अन्तिम मत परिणाम घोषणा नभएसम्म सेना आफ्नो कार्यक्षेत्रमै रहनेछ ।
राजनीतिक रूपमा मधेश प्रदेशका संवेदनशील जिल्लामध्ये पर्नेको रौतहटमा विगतका निर्वाचनहरूमा दलबीच तनाव, झडप हुने आशंका रहँदै आएको छ । यस पटक सुरक्षा संयन्त्र कडा बनाइएपछि सम्भावित अवाञ्छित गतिविधि रोकथाममा सेना परिचालनले मनोवैज्ञानिक प्रभाव समेत पार्ने अपेक्षा गरिएको छ ।




