काठमाडौं । रौतहट जिल्लाका सरकारी कार्यालयका कर्मचारीहरुले सर्लाहीको मलंगवामा हत्या गरिएका इन्जिनियर प्रमोद यादवको हत्याको विरोधमा कालो पट्टि बाँधी विरोध प्रदर्शन गरेका छन् ।
कर्मचारीहरुले हातमा कालोपट्टी बाँधेर कार्यालयको कामकाज पूर्ण रूपमा ठप्प पार्नुका साथै घटनाको निष्पक्ष तथा शीघ्र छानबिनको माग गरेका छन् । पूर्वाधार विकास कार्यालय सर्लाहीमा कार्यरत सब-इन्जिनियर यादवको आइतबार राति मलङ्गवा नगरपालिका १० मा अज्ञात समूहले गोली हानी हत्या गरेको थियो ।
कर्मचारीका विभिन्न सङ्घ सङ्गठनले संयुक्त विज्ञप्ति जारी गर्दै घटनालाई गम्भीरतापूर्वक लिन आग्रह गरेका छन् । यस्ता हिंसात्मक घटनाले कर्मचारीको मनोबल घटाउने र सेवा प्रवाहमा प्रत्यक्ष असर पार्ने विज्ञप्तिमा उल्लेख छ ।






