रौतहट । रौतहटको गौर नगरपालिकास्थित पावर हाउसनजिक आज एक यात्रुवाहक बस दुर्घटना भएको छ । गौरबाट चन्द्रपुर नगरपालिकातर्फ आउँदै गरेको ना ८ ख ८७६३ नम्बरको बस अनियन्त्रित भई सडक किनारको बिजुलीको पोलमा ठोक्किँएको हो ।
दुर्घटनामा बसको अगाडिको भागमा क्षति पुगेको छ भने बिजुलीको पोल ढलेको छ । बसमा सवार सबै यात्रुहरू सुरक्षित रहेका छन् । केही यात्रुलाई सामान्य चोट पटक लागेको बताइएको छ ।
घटना भएपछि स्थानीय बासिन्दा र नेपाल प्रहरीको टोली उद्धारमा खटिएको थियो । बसमाथि बिजुलीको तार खस्न सक्ने जोखिम देखिएपछि थप क्षति हुन नदिन तत्काल विद्युत् आपूर्ति बन्द गराइएको थियो ।
प्रारम्भिक रूपमा तीव्र गतिको कारण बस अनियन्त्रित भएको हुन सक्ने अनुमान गरिएको छ । घटनाबारे विस्तृत विवरण आउन बाँकी रहेको तथा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।




