रौतहट । रौतहटको सदरमुकाम गौर नगरपालिका ६ सवगढामा भएको साम्प्रदायिक झडपपछि जिल्ला प्रशासनको पहलमा दुवै पक्षबिच ६ बुँदे सहमति भएको छ । जिल्ला प्रशासन कार्यालय रौतहटको सभा कक्षमा भएको सहमतिसँगै क्षेत्रमा उत्पन्न तनाव सामान्य बन्दै गएको प्रशासनले जनाएको छ ।
रौतहटका सिडिओ दिनेश सागर भुसालको उपस्थितिमा शुक्रबार भएको वार्ता सौहार्दपूर्ण वातावरणमा सम्पन्न भएको थियो । सहमतिमा सामाजिक सद्भाव कायम गर्ने, आपसी संयमता अपनाउने, कुनै पनि अफवाह नफैलाउने तथा आउँदो फागुन २१ गते हुने निर्वाचनमा शान्तिपूर्ण सहभागिता सुनिश्चित गर्ने लगायतका प्रतिबद्धता समेटिएको छ ।
यसअघि बिहिबार राति सवगढामा विवाहको जन्ती मस्जिद अगाडि बाजा बजाउँदै जाँदा फरक समुदायबाट अवरोध भएपछि विवाद चर्किएको थियो । बौधिमाई नगरपालिका ९ सरमुजवाबाट सवगढातर्फ आउँदै गरेको सत्यनारायण साहकी छोरीको विवाहको जन्ती र स्थानीय मुस्लिम पक्षबिच भनाभन हुँदा ढुंगामुढासहित झडप भएको जिल्ला प्रहरी कार्यालय रौतहटले जनाएको छ ।
पहिलो झडपमा दुवै पक्षका गरी ६ जना घाइते भएका थिए । घाइतेहरूलाई उपचारका लागि प्रादेशिक अस्पताल गौर पठाइएको र सबैको अवस्था सामान्य रहेको र उपचार पछी घर फर्किएको प्रहरीले जानकारी दिएको छ । सोही विषयलाई लिएर शुक्रबार बिहान करिब सवा ९ बजे पुनः चार पाँच सय जनाको भीड जम्मा भई दोहोरो झडप सुरु भएको थियो ।
स्थिति नियन्त्रण बाहिर जान थालेपछि नेपाल प्रहरीका एसपी सिताराम रिजाल र सशस्त्र प्रहरीका एसपी रामहरि अधिकारीको कमान्डमा सुरक्षा टोली परिचालन गरिएको थियो । स्थिति नियन्त्रणका लागि १२ राउन्ड हवाई फायर र ४० राउन्ड अश्रुग्यास प्रहार गरिएको जिल्ला प्रहरी प्रवक्ता डीएसपी विष्णुप्रदीप बस्यालले जानकारी दिए ।
दोस्रो झडपमा स्थानीय ६ जनासहित २ प्रहरी घाइते भएका छन् । घाइते सबैको अवस्था सामान्य रहेको र उपचारपछि केहीलाई डिस्चार्ज गरिएको प्रहरीले जनाएको छ । घटनापछि जिल्ला प्रहरी र सशस्त्र प्रहरी बलको संयुक्त टोलीले क्षेत्रको सुरक्षा व्यवस्था कडा बनाएको छ । प्रशासनले सहमति अनुसार सबै पक्षलाई संयमता अपनाउन र सामाजिक सद्भाव कायम राख्न पुनः अपिल गरेको छ ।




