रौतहट । प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि तयारी तीव्र भइरहँदा रौतहटको निर्वाचन क्षेत्र नं. १ अन्तर्गत दुई मतदान केन्द्रमा सम्पूर्ण कर्मचारी महिला खटाइएको छ । गौर नगरपालिका ५ स्थित आधारभूत विद्यालय बालमन्दिर भवन ‘क’ र ‘ख’ मतदान केन्द्रमा मतदान अधिकृतदेखि सहयोगी कर्मचारीसम्म सबै महिला रहनेछन् ।
निर्वाचन क्षेत्रका कुल १३२ नियमित र २ अस्थायी मतदान केन्द्रमध्ये यी दुई केन्द्रमा मात्र ‘पूर्ण महिला’ टोली खटाइएको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ । अन्य केन्द्रहरूमा भने मिश्रित रूपमा कर्मचारी परिचालन गरिएको छ ।
कस-कसलाई जिम्मेवारी ?
आधारभूत विद्यालय बालमन्दिर भवन ‘क’ केन्द्रमा मतदान अधिकृतका रूपमा आस्था शर्मा पौडेल, सहायक मतदान अधिकृत सुचिता श्रीवास्तव, सहायक कर्मचारी प्रियंका कुमारी यादव, सबिता कुशवाहा र रुबी झा खटिएकी छन् । सहयोगी कर्मचारीका रूपमा रन्जना रिजाल रहने कार्यालयले जनाएको छ ।
त्यस्तै, भवन ‘ख’ केन्द्रमा मतदान अधिकृत सब्रिना खातुन, सहायक मतदान अधिकृत कल्याणी मिश्र, सहायक कर्मचारी अर्चना कुमारी साह, हिम काला पोखरेल र मनिषा चौधरी खटिएका छन् । सहयोगी कर्मचारीका रूपमा गुडिया देवी राम रहनेछिन् ।
मुख्य निर्वाचन अधिकृत मनोज केसीका अनुसार यी केन्द्रमा महिलालाई पूर्ण जिम्मेवारी दिनु व्यवस्थापन क्षमता प्रतिको विश्वास र लैङ्गिक सहभागिताको सन्देश दुवै हो ।
७९८ कर्मचारी परिचालन
निर्वाचन क्षेत्र नं. १ मा यस पटक कुल ७९८ कर्मचारी परिचालन गरिएको छ । प्रत्येक नियमित मतदान केन्द्रमा १ जना मतदान अधिकृत, १ जना सहायक मतदान अधिकृत, ३ जना सहयोगी कर्मचारी र १ जना कार्यालय सहयोगी खटाइएको छ ।
अस्थायी मतदान केन्द्रमा भने १ जना मतदान अधिकृत, १ जना सहायक मतदान अधिकृत र १ जना कार्यालय सहयोगी रहने व्यवस्था गरिएको छ । जिल्ला निर्वाचन कार्यालयका प्रमुख छोटेलाल दाशका अनुसार रौतहट जिल्ला अदालत र कारागार कार्यालयमा दुई अस्थायी मतदान केन्द्र कायम गरिएको छ ।
१३२ नियमित केन्द्रमा १३२ जना मतदान अधिकृत, १३२ जना सहायक मतदान अधिकृत, ३९६ जना सहयोगी कर्मचारी र १३२ जना कार्यालय सहयोगी खटिएका छन् ।
मतदाताको आकार र तयारी
निर्वाचन कार्यालयका अनुसार निर्वाचन क्षेत्र नं. १ मा सबैभन्दा बढी १,०६८ मतदाता जनता प्रावि भवन गंगापिपरा ‘ख’ मा रहेका छन् । सबैभन्दा कम ५३२ मतदाता आधारभूत विद्यालय भवन भेलहिटोल सखुअवा ‘क’ मा छन् ।
निर्वाचन व्यवस्थापन, सुरक्षाको तयारी र कर्मचारी परिचालन अन्तिम चरणमा पुगेको कार्यालयले जनाएको छ । यस पटक गौरका दुई ‘पूर्ण महिला’ मतदान केन्द्रले निर्वाचन प्रक्रियामा महिला सहभागिता र नेतृत्व क्षमता बारे सकारात्मक सन्देश दिने अपेक्षा गरिएको छ ।




