रौतहट । रौतहटको गौर नगरपालिका ६ सबगढा क्षेत्रमा शुक्रबारदेखि सुरु भएको दुई पक्षबीचको झडपले उग्र रूप लिएपछि स्थानीय प्रशासनले कर्फ्यु जारी गर्नुपर्यो । घटनामा संलग्न रहेको आरोपमा पक्राउ परेका २२ जनाविरुद्ध प्रहरीले आपराधिक उपद्रो तथा आगजनी कसुरमा मुद्दा दर्ता गर्दै अनुसन्धान अघि बढाएको छ ।
जिल्ला प्रहरी कार्यालयका डीएसपी विष्णुप्रदीप बस्यालका अनुसार झडपको क्रममा आधा दर्जन सवारी साधनमा आगजनी तथा तोडफोड भएको थियो भने केही घरमा समेत क्षति पुगेको छ । घटनालगत्तै शनिबार साँझ २२ जनालाई नियन्त्रणमा लिइएको थियो ।
उनीहरूमाथि अदालतबाट म्याद थप गरी अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । अनुसन्धानकै क्रममा सोमबार सबगढाबाट थप दुई जना शुभनारायण साह र समिर मियाँलाई पनि प्रहरीले नियन्त्रणमा लिएको छ ।
झडप कसरी सुरु भयो ?
प्रहरीका अनुसार शुक्रबार सबगढा गाउँमा बिहेमा सहभागी जन्तीको टोलीले चर्को आवाजमा डिजे बजाएको विषयलाई लिएर दुई पक्षबीच विवाद सुरु भएको थियो । सामान्य भनाभनबाट सुरु भएको विवाद शनिबारसम्म आइपुग्दा झडपमा परिणत भयो ।
स्थिति नियन्त्रण बाहिर जान थालेपछि शनिबार दिउँसो १ बजेदेखि स्थानीय प्रशासनले गौर क्षेत्रमा कर्फ्यु आदेश जारी गरेको थियो । कर्फ्युका क्रममा सुरक्षाकर्मी परिचालन बढाइएको थियो ।
कर्फ्यु हटाइयो, सद्भाव र्याली
घटनापछि समुदायमा फैलिएको तनाव कम गर्न नागरिक समाजको अगुवाइमा सोमबार बिहान सद्भाव र्याली निकालिएको थियो । सोही दिन बिहानैदेखि कर्फ्यु हटाइएको प्रमुख जिल्ला अधिकारी दिनेश सागर भुसालले जानकारी दिए ।
स्थानीय प्रशासनले शान्ति सुरक्षा कायम राख्न र आपसी सद्भाव जोगाउन सबै पक्षलाई संयमता अपनाउन आग्रह गरेको छ । गौरको सबगढा क्षेत्रमा भएको यो घटनाले सानो विवादले कसरी ठूलो रूप लिन सक्छ भन्ने उदाहरण प्रस्तुत गरेको छ । अहिले भने प्रहरी अनुसन्धान जारी छ र स्थानीय बासिन्दा सामान्य जनजीवनतर्फ फर्किन थालेका छन् ।




