धनुषा । धनुषामा सवारी दुर्घटना हुँदा एक जना ट्राफिक प्रहरीको मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालय धनुषाका अनुसार जनकपुर उपमहानगरपालिका ४ मुरलीचोकमा सोमबार भएको सवारी दुर्घटनामा मोटरसाइकल चालक ट्राफिक प्रहरी हवलदार चन्द्रकला महतोको मृत्यु भएको हो ।
महतो जिल्ला ट्राफिक प्रहरी कार्यालय महोत्तरीमा कार्यरत थिइन् । भ्रमरपुराचोकबाट मुरलीचोकतर्फ आउँदै गरेको प्रदेश २-०३-००१ प ०१०४ नम्बरको टिपरले विपरीत दिशाबाट आउँदै गरेको प्रदेश २-०२-००२ प ७३५२ नम्बरको पल्सर मोटरसाइकललाई ठक्कर दिएको जिल्ला ट्राफिक प्रहरी कार्यालय धनुषाले जनाएको छ ।
महतोको शव परीक्षणका लागि प्रादेशिक अस्पताल, जनकपुर पठाइएको छ । मोटरसाइकललाई ठक्कर दिने टिपर चालक, टिपर तथा मोटरसाइकल ट्राफिक प्रहरी कार्यालय जिरोमाइलले आफ्नो नियन्त्रणमा राखी अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ ।




