सर्लाही । सशस्त्र प्रहरी बल नेपाल अन्तर्गत सीमा सुरक्षा गुल्म मलंगवाको सक्रियतासँगै सर्लाहीमा भन्सार छलीका सामान बरामद गर्ने क्रम तीव्र बनेको छ ।
सशस्त्र प्रहरीले सर्लाहीको पर्सा ५ स्थित सीमावर्ती क्षेत्रबाट भन्सार छली गरेर भारतबाट ल्याइएको करिब ३२ लाख ८३ हजार ७५० रुपैयाँ बराबरको अवैध सामान बरामद गरेको जनाएको छ ।
प्राप्त सूचनाका आधारमा सशस्त्र प्रहरी नायब उपरीक्षक लिला बहादुर कार्कीको कमाण्डमा खटिएको टोलीले मोटरसाइकलमार्फत ल्याइएका सामान दुई वटा पिकअप गाडीमा लोड गरिरहेको अवस्थामा नियन्त्रणमा लिएको हो ।

उक्त कारबाहीमा सर्लाही भन्सार कार्यालयको संयुक्त टोली समेत सहभागी रहेको थियो । बरामद गरिएको सामानमा भारतीय फूल १ हजार ७८५ केजी रहेको छ, जसको अनुमानित मूल्य ७ लाख १४ हजार रुपैयाँ रहेको छ ।
त्यसैगरी ८ लाख ८३ हजार ७५० रुपैयाँ बराबरको कपडा समेत बरामद गरिएको सशस्त्र प्रहरीले जनाएको छ । सामान ओसार पसारमा प्रयोग भएका दुई वटा पिकअप गाडी र चार वटा मोटरसाइकलसमेत नियन्त्रणमा लिइएको छ ।

ती सवारी साधनको अनुमानित मूल्य करिब २४ लाख रुपैयाँ रहेको जनाइएको छ । बरामद गरिएको सम्पूर्ण सामान र सवारी साधन आवश्यक कारबाहीका लागि सर्लाही भन्सार कार्यालयलाई बुझाइएको सशस्त्र प्रहरीले जनाएको छ ।
पछिल्लो समय सशस्त्र प्रहरीले सर्लाहीका सीमावर्ती क्षेत्रमा सुरक्षा व्यवस्था कडा बनाउँदै भन्सार छली तथा अन्य अवैध गतिविधि नियन्त्रणमा सक्रियता बढाएको जनाएको छ ।




