जनकपुर । धनुषाको औरही गाउँपालिका ६ मा बिहीबार अपराह्न भएको एक हिंसात्मक घटनाले स्थानीय बासिन्दा स्तब्ध बनेका छन् । धारिलो हतियार प्रहारबाट हंसपुर नगरपालिका ९ निवासी २२ वर्षीय सुमित मण्डलको मृत्यु भएपछि गाउँमा त्रास र शोकको वातावरण छाएको छ ।
स्थानीयका अनुसार साँझतिर अचानक हल्ला फैलिएपछि बस्तीमा हलचल मच्चिएको थियो । गम्भीर घाइते अवस्थामा भेटिएका मण्डललाई तत्काल उपचारका लागि लैजाने प्रयास भएपनि उनको ज्यान जोगिन सकेन ।
धनुषाका प्रहरी प्रमुख रुग्म कुँवरले बिहिबार करिब ४ बजेतिर घटनाको सूचना प्राप्त भएको र त्यसपछि प्रहरी टोली तत्काल घटनास्थलमा पुगेर अनुसन्धान थालेको जानकारी दिए ।
घटनास्थलबाट आवश्यक प्रमाण संकलन गरिएको र संलग्न व्यक्तिहरूको पहिचान तथा खोजी कार्य तीव्र पारिएको उनले बताए । प्रहरीको प्रारम्भिक अनुसन्धानले मृतक मण्डलको एक युवतीसँग प्रेम सम्बन्ध रहेको देखाएको छ ।
सोही सम्बन्धलाई लिएर विवाद उत्पन्न भई घटना भएको हुन सक्ने आशंका गरिएको छ । यद्यपि घटनाको वास्तविक कारण र पृष्ठभूमि पुष्टि हुन बाँकी रहेको र सबै पक्षबाट अनुसन्धान अघि बढाइएको प्रहरीले स्पष्ट पारेको छ ।
मण्डलको शव पोस्टमार्टमका लागि अस्पताल पठाइएको छ । घटनाले स्थानीय समुदायलाई स्तब्ध बनाएको छ भने परिवारजन शोकमा डुबेका छन् । प्रहरीले घटनाको विस्तृत विवरण छिट्टै सार्वजनिक गर्ने जनाएको छ ।






