धनुषा । धनुषाको हंसपुर नगरपालिका वडा नं. ९ रुदौली बस्ने १८ वर्षीय किशोर सुमित मण्डलको घाँटी रेटी हत्या गरेको आरोपमा प्रहरीले तीन जनालाई पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय धनुषाले प्रेस विज्ञप्ति जारी गर्दै हत्यामा संलग्न रहेको आरोपमा मृतककी प्रेमिका र उनका दाजु र काका पर्ने आफन्तलाई सार्वजनिक गरेको हो ।
पक्राउ पर्नेमा २९ वर्षीय परमेश्वर मण्डल, २० वर्षीय दीपेश मण्डल र १८ वर्षीया काजल मण्डल छन् । घटना विवरण अनुसार, सुमित मण्डल गत फागुन १३ गते साँझ आफ्नी प्रेमिका काजल मण्डललाई भेट्न उनको घर गएका थिए । सो समयमा घरमा अन्य सदस्य नभएको मौका छोपी पुगेका सुमितलाई काजलका काकाले देखेपछि स्थिति तनावपूर्ण बनेको थियो ।
काकाले तत्कालै आफ्नो भतिज दीपेश मण्डललाई बोलाई दुवै जना मिलेर सुमितलाई कुटपिट गरेका थिए । प्रहरी अनुसन्धानका अनुसार, कुटपिटपछि सुमितको हात पछाडि बाँधेर परमेश्वर मण्डलको मोटरसाइकलमा राखी औरही गाउँपालिका वडा नं. ६ चक्करस्थित एकान्त खेतमा पुर्याइएको थियो । त्यहाँ दीपेश मण्डलले आफूसँग रहेको धारिलो हतियारले सुमितको घाँटीमा पटक–पटक प्रहार गरी हत्या गरेको खुल्न आएको छ ।
सुमितको शव फागुन १४ गते दिउँसो सडकभन्दा करिब ३०० मिटर टाढा खेतमा फेला परेको थियो । प्रहरीले हत्यामा प्रयोग गरिएको धारिलो हतियार र शव ओसार्न प्रयोग गरिएको मोटरसाइकल समेत बरामद गरेको छ । जिल्ला प्रहरी कार्यालय धनुषाका प्रवक्ता एवं प्रहरी नायव उपरीक्षक गणेश बहादुर बमका अनुसार पक्राउ परेका तीनै जनामाथि थप अनुसन्धान कार्य भइरहेको छ ।






