सिरहा । ट्राफिक नियम उल्लंघनको आरोपमा सिरहाको नरहा चोकमा प्रहरीले सर्वसाधारणमाथि कुटपिट गरेको घटनाले स्थानीय स्तरमा तरंग पैदा गरेको छ । सामाजिक सञ्जालमा सार्वजनिक भिडियोपछि घटनाले थप चर्चा पाएको हो ।
सिरहा–चोहर्वा सडक खण्डअन्तर्गत पर्ने नरहा चोकमा नेपाल प्रहरी, सशस्त्र प्रहरी र निर्वाचन सुरक्षामा खटिएका प्रहरी टोलीले संयुक्त रूपमा सवारी जाँच गरिरहेका बेला विवाद चर्किएको बताइएको छ ।
गोलबजार नगरपालिका ८ चोहर्वाका २४ वर्षीय बैजु मुखियाका अनुसार, जाँचका क्रममा लाइसेन्स साथमै भएपनि ब्लु बुक नभएको भन्दै प्रहरीले मोटरसाइकलको साँचो खोसेका थिए । उनले मोबाइलमा ब्लु बुकको फोटो देखाएपछि आफूलाई जान दिइएको तर केही पर पुग्नेबित्तिकै पुन: रोकेर कुटपिट गरिएको दाबी गरेका छन् ।
घटनास्थलमा रहेका इलाका प्रहरी कार्यालय नरहाका इन्चार्ज प्रहरी नायब निरीक्षक राजकिशोर साहमाथि कुटपिटमा संलग्न भएको आरोप लागेको छ । यद्यपि यस विषयमा आधिकारिक पुष्टि भइसकेको छैन ।
उक्त घटनाकै क्रममा अर्को मोटरसाइकलमा सवार तीन जनामाथि पनि प्रहरीले बल प्रयोग गरेको भिडियोमा देखिन्छ । प्रहरी देखेपछि सडक छेउमा मोटरसाइकल छाडेर भागेका तीमध्ये एक जना उम्किन सफल भएका थिए भने अन्य दुई जनालाई लखेटेर नियन्त्रणमा लिइएको थियो । भिडियोमा केही प्रहरी मिलेर लठ्ठी र बुट प्रयोग गर्दै कुटपिट गरिरहेको दृश्य देखिन्छ ।
प्रत्यक्षदर्शीका अनुसार ३० वर्षीय एक व्यक्तिलाई बढी चोट लागेको छ । बैजुका अनुसार, घटनापछि दुबै मोटरसाइकल प्रहरीले नियन्त्रणमा लिएको थियो । पछि आफूहरूसँग ‘प्रहरीको गल्ती नभएको र आफ्नै गल्ती भएको’ भन्ने आशयको भिडियो अभिव्यक्ति रेकर्ड गराएपछि मात्र मोटरसाइकल फिर्ता गरिएको उनले बताएका छन् ।
जिल्ला प्रहरी कार्यालय सिरहाका प्रवक्ता डीएसपी रमेशबहादुर पालले घटना सम्बन्धमा जानकारी आएको र अनुसन्धान भइरहेको बताएका छन् । उनका अनुसार भिडियोमा कुटपिट भएको देखिए पनि आरोप लागेका प्रहरी नायब निरीक्षक प्रत्यक्ष संलग्न नरहेको प्रारम्भिक जानकारी प्राप्त भएको छ ।
“विषय हाम्रो ध्यानमा आएको छ, थप तथ्य संकलन भइरहेको छ,” उनले बताए । घटनाले ट्राफिक जाँचका क्रममा प्रयोग गरिने बल, प्रहरी आचरण र नागरिक अधिकारका विषयमा प्रश्न उठाएको छ । निष्पक्ष छानबिन र सत्यतथ्य सार्वजनिक गर्न स्थानीयवासीले माग गरेका छन् ।




