वीरगन्ज । जिल्ला प्रशासन कार्यालय पर्साले निर्वाचनलाई लक्षित गर्दै भारतसँग जोडिएका जिल्लाका सबै सीमानाका चार दिनका लागि बन्द गर्ने निर्णय गरेको छ ।
गृह मन्त्रालय, निर्वाचन आयोग र जिल्ला सुरक्षा समितिको निर्णय अनुसार यही फागुन १८ गते सोमबार राति १२ बजेदेखि फागुन २१ गते बिहिबार राति १२ बजेसम्म भारतसँग जोडिएका सबै सीमा नाका पूर्णरूपमा बन्द रहने प्रमुख जिल्ला अधिकारी भोला दाहालले जानकारी दिए ।
प्रशासनका अनुसार निर्वाचनलाई स्वच्छ, निष्पक्ष र भयरहित वातावरणमा सम्पन्न गराउन सुरक्षा संवेदनशीलतालाई मध्यनजर गर्दै उक्त निर्णय गरिएको हो । तोकिएको अवधिभर अत्यावश्यक सेवा बाहेक सीमा आवतजावत पूर्ण रूपमा रोक लगाइएको छ ।
यस अवधिमा सार्वजनिक स्थलमा भीडभाड, जुलुस, र्याली, हो–हल्ला, मादक पदार्थ सेवन गरी अशान्ति फैलाउने गतिविधि निषेध गरिएको छ । मोटरसाइकल प्रयोग गरी होली मनाउने कार्य समेत गर्न नपाइने प्रशासनले जनाएको छ ।
निर्वाचन मौन अवधिभर कुनै पनि राजनीतिक दल वा उम्मेदवारको प्रचारप्रसार, झन्डा–ब्यानर प्रदर्शन तथा डीजे लगायत ध्वनि प्रदूषण गर्ने गतिविधि पनि प्रतिबन्धित गरिएको छ । निर्देशन उल्लङ्घन गरेमा प्रचलित कानुनबमोजिम कारबाही गरिने प्रशासनले चेतावनी दिएको छ ।




