सर्लाही । सर्लाहीको जिल्ला पूर्वाधार विकास कार्यालयमा सब-इन्जिनियरका रूपमा कार्यरत ३६ वर्षीय प्रमोद कुमार यादवको गोली प्रहार गरी हत्या भएको घटनामा सफल अनुसन्धान गरि संलग्न आरोपितलाई पक्राउ गरी गर्ने प्रहरीलाई सम्मान गरिएको छ ।
पुरस्कृत हुनेमा प्रहरी निरीक्षक विशाल बहादुर बुढाथोकी, प्रहरी निरीक्षक विरेन्द्र बीसी, प्रहरी नायब निरीक्षक सुजन पुडासैनी र प्रहरी जवान अजय सहनी छन् ।
उनीहरूले उक्त हत्या प्रकरणको सफल अनुसन्धान गरी अभियुक्तलाई कानुनी दायरामा ल्याउन महत्वपूर्ण भूमिका निर्वाह गरेको सर्लाही प्रहरीले जनाएको छ ।
सिरहाको सुखीपुर नगरपालिका ९ बैशाख घर भई हाल सर्लाही मलङ्गवा नगरपालिका १० मा डेरा गरी बस्दै आएका यादवलाई गत फागुन ३ गते साँझ हत्या भएको थियो । उनको हत्या लोकसेवा आयोगको वैकल्पिक सूचीमा परेका उम्मेदवारबाट भएको खुलेको छ ।
उनीसँगै मधेश प्रदेश लोकसेवा आयोगको परीक्षामा प्रतिस्पर्धामा रहेका र वैकल्पिक उम्मेदवारको सूचीमा परेका व्यक्तिको योजनामा हत्या भएको पाइएको छ । सर्लाही प्रहरीले घटनामा संलग्न तीन जनालाई पक्राउ गरेको छ ।






