रौतहट । आसन्न फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनलाई लक्षित गर्दै भारतसँग सीमा जोडिएका रौतहट जिल्लाका सम्पूर्ण सीमा नाका आज राति १० बजेदेखि ७२ घण्टाका लागि बन्द गरिने भएको छ ।
जिल्ला प्रशासन कार्यालय रौतहटको सूचना अनुसार निर्वाचनलाई स्वतन्त्र, निष्पक्ष र भयरहित वातावरणमा सम्पन्न गर्नका लागि आज फागुन १८ गते (तदनुसार २ मार्च २०२६) सोमबार राति १० बजेदेखि फागुन २१ गते (तदनुसार ५ मार्च २०२६) बिहिबार राति १० बजेसम्म जिल्लाका सबै सीमा नाका बन्द रहनेछन् ।
प्रशासनका अनुसार सीमावर्ती क्षेत्रमा हुने आवतजावत नियन्त्रण गरी सुरक्षा व्यवस्थालाई थप सुदृढ बनाउने उद्देश्यले सीमा नाका बन्द गर्ने निर्णय गरिएको हो । यस अवधिमा सीमा क्षेत्र हुँदै हुने आवतजावत तथा गतिविधिमा कडाइ गरिने जनाइएको छ ।
रौतहटका सिडिओ दिनेश सागर भुसालले सुरक्षा चुनौतीलाई मध्यनजर गर्दै सीमा नाका बन्द गरिएको जानकारी दिँदै यस निर्णय कार्यान्वयनमा सबै पक्षको सहयोग आवश्यक रहेको बताएका छन् । उनले आम नागरिकलाई सूचनाको पालना गर्न र अनावश्यक आवतजावत नगर्न आग्रह गरेका छन् ।




