सर्लाही । सर्लाहीको पर्सा गाउँपालिका स्थित एक मतदान केन्द्रमा खटिएका मतदान अधिकृत अचानक बेहोस भई उपचारका क्रममा मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालय सर्लाहीका अनुसार मतदान अधिकृतको मृत्यु भएको हो ।
प्रहरीका अनुसार आज दिउँसो करिब २ बजे पर्सा गाउँपालिका ४ स्थित जिगडवा आधारभूत विद्यालय जिगडवा मतदान केन्द्रमा खटिएका मतदान अधिकृत रघुनाथ महतो अचानक बेहोस भएका थिए ।
रौतहटको माधव नारायण नगरपालिका ६ घर भएका ४२ वर्षीय महतो हाल सर्लाहीको बरहथवा नगरपालिका ५ स्थित आधारभूत स्वास्थ्य केन्द्र बरहथवामा सिनियर अहेवको रूपमा कार्यरत थिए । बेहोस भएपछि उनलाई तत्काल उपचारका लागि प्रादेशिक अस्पताल मलंगवा पठाइएको थियो ।
दिउँसो करिब साढे २ बजे अस्पतालका चिकित्सकले जाँच गर्दा उनलाई मृत घोषणा गरेको डिएसपी सरोज राईले जानकारी दिए । घटना बारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।




