धनुषा । धनुषाको मिथिला नगरपालिकामा बम विस्फोट हुँदा दुई जना घाइते भएका छन् । मिथिला नगरपालिका ९ बडहरीस्थित पूर्वपश्चिम राजमार्गको बडहरी पुलमाथि बम विस्फोट हुँदा दुई जना बालबालिका घाइते भएका हुन् ।
विस्फोटमा मिथिला ८ जमुनिवासकी १५ वर्षीया आशा भुजेल र ८ वर्षीय सुशील माझी घाइते भएको जिल्ला प्रहरी कार्यालय, धनुषाका प्रवक्ता प्रहरी नायव उपरीक्षक गणेशबहादुर बमले बताए ।
विस्फोटमा घाइते भएका दुवै बालबालिकाको अवस्था सामान्य रहेको डीएसपी बमले जानकारी दिए । विस्फोट भएको वस्तु के रहेको थियो भन्ने खुलेको छैन । यस सम्बन्धमा थप अनुसन्धान भइरहेको उनको भनाइ छ ।
यस्तै महोत्तरीमा भेटिएको शंकास्पद वस्तु नेपाली सेनाको टोलीले निष्क्रिय पारेको छ । धनुषा र महोत्तरीको सीमामा पर्ने रातो नदीको पुलमा समेत शंकास्पद वस्तु फेला परेको हो । महोत्तरी प्रहरीका अनुसार अहिले शंकास्पद वस्तु फेला परेको ठाउँमा नेपाली सेनाको बम डिस्पोजल टोली पुगेर निष्क्रिय गरेका छन् ।




