वीरगन्ज । पर्सामा सुतली बमसहित ३ जना पक्राउ परेका छन् । वीरगन्ज महानगरपालिकाको वडा नम्बर १६ बाट सुतली बमसहित ३ जनालाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय पर्साले जनाएको छ ।
विशेष सर्च अप्रेसनका क्रममा ९ थान सुतली बमसहित तीन जनालाई पक्राउ गरिएको पर्सा प्रहरी प्रमुख सुदिपराज पाठकले बताए । उनका अनुसार बुधबार बिहान करिब २ बजे सर्च अप्रेसनका क्रममा उनीहरू पक्राउ परेका हुन् ।
पक्राउ पर्नेमा वीरगन्ज १६ निवासी कृष्ण यादव, सोही ठाउँकै रोहित पटेल र अविजित यादव रहेका छन् । निर्वाचनको सुरक्षालाई मध्यनजर गर्दै वीरगन्जमा चलाइएको विशेष अप्रेसन अन्तर्गत उनीहरूलाई पक्राउ गरिएको प्रहरी भनाइ छ ।
उनीहरुले निर्वाचनमा धार्मिक द्वन्द्व फैलाउने उद्देश्यले अवाञ्छित गतिविधि गर्न खोजेको प्रारम्भिक अनुसन्धानमा पाइएको पर्सा प्रहरी प्रमुख पाठकले जानकारी दिए ।
प्रहरीले उनीहरूको साथबाट ९ थान सुतली बम, २ थान मोबाइल, १ थान पावर बैङ्क, १ थान चार्जर, ५ वटा सेतो रङ्गको तार र सुँगुरको टाउको १ वटा फेला पारेको जनाएको छ ।




