रौतहट । रौतहट निर्वाचन क्षेत्र नम्बर ४ मा दुई पटक प्रतिनिधि सभा सदस्य निर्वाचित भइसकेका नेपाली कांग्रेसका देवप्रसाद तिमलसिनालाई २१ हजार ११ मतको फराकिलो अन्तरले पराजित गर्दै राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उम्मेदवार गणेश पौडेल प्रतिनिधि सभा सदस्यमा निर्वाचित भएका छन् ।
निर्वाचन अधिकृतको कार्यालयका अनुसार पौडेलले घण्टी चुनाव चिह्नबाट ३६ हजार ८७६ मत प्राप्त गरेका छन् भने तिमलसिनाले १५ हजार ८६५ मत मात्रै प्राप्त गरे । यससँगै २०७४ र २०७९ को निर्वाचनमा लगातार विजयी भएका तिमलसिनाको हैट्रिक जितको यात्रा यस पटक रोकिएको छ ।
यस क्षेत्रमा लामो समयदेखि कायम रहेको कांग्रेसको प्रभावलाई रास्वपाको उदय र मतदाताको ‘परिवर्तन’ प्रतिको चाहनाले भत्काएको विश्लेषण गरिएको छ । निर्वाचनमा नेपाली कप्युनिष्ट पार्टी नेकपाका उम्मेदवार रामकुमार भट्टराईले ९ हजार ७७८ मत प्राप्त गर्दै तेस्रो स्थानमा रहे ।
यसै क्षेत्रबाट पत्रकारिताबाट राजनीतिमा प्रवेश गरेका ऋषि धमलाले भने ६५५ मत मात्रै प्राप्त गरे । निर्वाचन कानुन अनुसार कुल सदर मतको १० प्रतिशत मत ल्याउन नसकेपछि उनको जमानत जफत भएको छ ।
धमला मात्र नभई यस क्षेत्रमा रास्वपा, कांग्रेस, नेकपा र एमाले बाहेकका अन्य सबै दल तथा स्वतन्त्र उम्मेदवारहरूको धरौटी जफत भएको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ । विजयी भएपछि संक्षिप्त प्रतिक्रिया दिँदै गणेश पौडेलले यो जित आफ्नो मात्र नभई रौतहटका जनताको परिवर्तन प्रतिको चाहनाको जित भएको बताएका छन् ।




