इलाम । इलाम क्षेत्र नम्बर २ मा नेकपा (एमाले) का उम्मेदवार सुहाङ नेम्बाङले आफ्नो बाबुको विरासत पुन: जोगाएका छन् । एमालेका युवा उम्मेदवार नेम्बाङ यो क्षेत्रबाट प्रतिनिधिसभा सदस्यमा विजयी भएका हुन् । नेम्बाङ २२ हजार ४ सय २६ मतसहित विजयी भएका हुन् । उनी निकटतम् प्रतिद्वन्द्वी नेपाली कांग्रेसका भेषराज आचार्यले १४ हजार ६ सय ५० मत प्राप्त गरेका छन् ।
त्यस्तै श्रम संस्कृति पार्टीका सुदीप राईले १४ हजार ४ सय मत प्राप्त गरेका छन् । देश भरिबाट भारी मतान्तरसहित विजयी हुँदै आएको राष्ट्रिय स्वतन्त्र पार्टीका गोकुल राईले भने इलामबाट ७ हजार ८ सय १४ मत प्राप्त गरेका छन्, भने नेपाली कम्युनिस्ट पार्टीका ओमबहादुर गुरुङले १,१७२ मत पाएका छन् ।
यस निर्वाचनमा कुल १ लाख १९ हजार ४ सय ८९ मतदाता रहेकोमा ६७ हजार ६ सय ६४ मत खसेको थियो, जुन कुल मतदाताको ५६ प्रतिशत हो । गणना भएको मतमध्ये ३ हजार ८ सय ८३ मत बदर भएको निर्वाचन कार्यालयले जनाएको छ ।
नयाँ र पुराना शक्तिहरूको चर्को रस्साकस्सीका बीच सुहाङको यो जितले इलाममा एमालेको बलियो पकडलाई पुन: प्रमाणित गरिदिएको छ । स्वर्गीय सुवास नेम्बाङको सादगी र विकासप्रेमी छवि तथा सुहाङको युवा जोसलाई यस क्षेत्रका मतदाताले अनुमोदन गरेको विश्लेषण गरिएको छ ।
नेम्वाङले यस अघि त्यही क्षेत्रबाट उपनिर्वाचनमा निर्वाचित भएका थिए । २०८१ को उपनिर्वाचनमा २७ हजार ७७२ मत ल्याएर विजयी हुँदा धेरैले यसलाई ’सहानुभूति’ को मत भनेका थिए । तर, बितेका १६ महिनामा सुहाङले आफ्नो छुट्टै पहिचान बनाउने प्रयत्न गरेका छन् ।
संसद्मा इलामको चिया, कृषि र सडकका मुद्दा उठाउने देखि लिएर विपतको समयमा जिल्ला सम्झने जनप्रतिनिधिका रुपमा उनलाई मतदाताले नजिकबाट नियालेका छन् ।






