रौतहट । रौतहटको चन्द्रपुर नगरपालिका १ स्थित पूर्व-पश्चिम राजमार्गको बागमती पुलमा बसको ठक्करबाट एक बालकको मृत्यु भएपछि स्थानीयले क्षतिपूर्तिको माग गर्दै करिव ४ घण्टासम्म राजमार्ग अवरुद्ध गरे ।
जिल्ला प्रहरी कार्यालय रौतहटका अनुसार हिजो दिउँसो करिव १:२० बजे पश्चिमबाट पूर्वतर्फ जाँदै गरेको ना ५ ख ६२६३ नम्बरको बसले सोही दिशातर्फ जाँदै गरेका साइकल यात्री चन्द्रपुर १ मंगलपुरका सिकिन्द्र सहनीका १३ वर्षीय छोरा कृष्ण सहनीलाई ठक्कर दिएका थिए ।
दुर्घटनामा गम्भीर घाइते भएका सहनीको टाउको र बायाँ खुट्टाको तिघ्रामा चोट लागेको थियो । घाइते बालकलाई तत्काल उपचारका लागि वीरगञ्ज पठाइएकोमा थप उपचारका लागि बारा स्थित एल.एस. न्यूरो अस्पताल लगिएको थियो । उपचारकै क्रममा हिजो दिउँसो ४:३० बजे चिकित्सकले उनलाई मृत घोषणा गरेका थिए ।
दुर्घटनापछि बस र चालक चितवन भरतपुर महानगरपालिका ५ निवासी ४१ वर्षीय सोमबहादुर प्रजालाई प्रहरीले नियन्त्रणमा लिएर अनुसन्धान सुरु गरे । अनुसन्धानमा चालकले मदिरा सेवन नगरेको प्रारम्भिक जाँचबाट खुलेको प्रहरीले जनाएको छ ।
यसैबीच मृतकका आफन्त तथा स्थानीयवासीले आज दिउसो १२ बजेदेखि मंगलपुरमा क्षतिपूर्तिको माग गर्दै पूर्व-पश्चिम राजमार्गमा ढुंगा राखेर टायर बालेर अवरोध गरेका थिए । मृतककी आमा समेत सडकमा सुतेर विरोध जनाएपछि चार घण्टासम्म राजमार्ग पूर्णरूपमा अवरुद्ध भएको थियो ।
घटनास्थलमा प्रहरी निरीक्षक कमलेश मण्डल, प्रहरी निरीक्षक रुपेश कुमार झा, सशस्त्र प्रहरी निरीक्षक राजेश आचार्य लगायतको कमाण्डमा ठूलो संख्यामा सुरक्षाकर्मी परिचालन गरी स्थानीयलाई सम्झाइ बुझाइ गरिएको जिल्ला प्रहरी कार्यालय रौतहटका सूचना अधिकारी एवम् डिएसपी विष्णुप्रदीप बस्यालले बताए ।
मृतकका परिवारलाई क्षतिपूर्ति उपलब्ध गराउने तथा बस चालकविरुद्ध सवारी ज्यान सम्बन्धी मुद्दा चलाउने सहमति भएपछि बेलुका करिव ४ बजेबाट राजमार्ग दुवैतर्फ सञ्चालनमा आएको डिएसपी बस्यालले बताए ।




