पर्सा । सामाजिक सञ्जाल टिकटकमार्फत लाखौं दर्शकमाझ परिचित मोहम्मद उमर खानको राजनीतिक यात्रा भने पहिलो प्रयासमै सफल हुन सकेन । हालै सम्पन्न प्रतिनिधिसभा निर्वाचनमा पर्सा निर्वाचन क्षेत्र नम्बर १ बाट उम्मेदवार बनेका उनले जम्मा २४० मत मात्र प्राप्त गरेपछि उनको चुनावी परिणाम निकै कमजोर देखिएको छ ।
सामाजिक सञ्जालमा अत्यन्त लोकप्रिय मानिने खानको ‘अफिसियल उमरखान २’ नामक टिकटक खातालाई ३२ लाखभन्दा बढी प्रयोगकर्ताले पछ्याएका छन् भने उनका भिडियोहरू एक करोड ९४ लाखभन्दा बढी पटक हेरिएका छन् । विशेष गरी ९० को दशकका चर्चित हिन्दी तथा नेपाली गीतहरूमा अभिनय गर्दै बनाइने भिडियोका कारण उनले युवा पुस्ता माझ उल्लेखनीय लोकप्रियता कमाएका थिए ।
उनको टिकटक सामाग्रीमा मेलिना पन्तसँगको जोडी विशेष चर्चामा रहने गरेको छ । सामाजिक सञ्जालमा दर्शकबाट निकै रुचाइने यो जोडीका भिडियोहरू नियमित रूपमा चर्चामा आउने गरेका छन् । तर डिजिटल संसारमा प्राप्त लोकप्रियता मतदाताको मतमा रूपान्तरण हुन सकेन भन्ने सन्देश पर्सा १ को चुनावी परिणामले दिएको छ ।
खेलकुद क्षेत्रमा पनि सक्रिय खान तेक्वान्डोका खेलाडी हुन् । उनले विभिन्न प्रतियोगितामा ४३ स्वर्ण पदक जितेको दाबी गरिन्छ । त्यस्तै उनी चितवनमा मदरसा विद्यालय सञ्चालन गर्दै शैक्षिक क्षेत्रमा पनि संलग्न रहेको बताइन्छ ।
मनोरञ्जन क्षेत्रतर्फ पनि उनको उपस्थिति देखिएको छ । नेपाली चलचित्र ‘होस्टेल ३’बाट उनले अभिनय यात्रा सुरु गरेका थिए, जहाँ उनले खलनायकको भूमिकामा पर्दापण गरेका थिए । सामाजिक सञ्जाल, खेलकुद र मनोरञ्जनका गतिविधिबाट पहिचान बनाएका खान यस पटक राजनीतिमा आफ्नो भाग्य परीक्षण गर्न चुनावी मैदानमा उत्रिएका थिए ।
खान राष्ट्र निर्माण दलको तर्फबाट चुनाव लडेका थिए । मुस्लिम आयोगका पूर्वअध्यक्ष समिम मिया अन्सारीको नेतृत्वमा गठन भएको उक्त दल केही महिनाअघि मात्रै औपचारिक रूपमा सार्वजनिक गरिएको थियो । दलले देशका विभिन्न समुदाय, जाति र क्षेत्रलाई समेट्ने उद्देश्य राखेको दाबी गर्दै चुनावी मैदानमा प्रवेश गरेको थियो । यस दलको चुनाव चिह्न पानीको बोतल रहेको थियो ।
तर पर्सा १ को चुनावी परिणाम भने स्पष्ट रूपमा फरक देखियो । यस क्षेत्रमा रास्वपाका बुद्धिप्रसाद पन्तले २७ हजार २७४ मतसहित विजय हासिल गरे । उनका निकटतम प्रतिस्पर्धी पूर्वमन्त्री नेकपा एमालेका उम्मेदवार प्रदीप यादवलेले १३ हजार ३० मत प्राप्त गरे भने नेपाली कांग्रेसका अनिल रुँगटा तेस्रो स्थानमा रहे ।
यो परिणामले सामाजिक सञ्जालमा रहेको लोकप्रियता र वास्तविक राजनीतिक समर्थन बीच ठूलो अन्तर हुन सक्ने तथ्यलाई पुनः उजागर गरेको छ । लाखौं प्रशंसक भएको डिजिटल संसारको चर्चित व्यक्तित्व भए पनि निर्वाचनमा मतदाताको विश्वास जित्न भने बलियो संगठन, स्थानीय सम्बन्ध र राजनीतिक पहुँच आवश्यक पर्ने देखिन्छ ।




