झापा । झापाको गौरादह नगरपालिकाका मेयर छत्रपति सुवेदीमाथि उनकै निवासमा पुगेर हातपात र गालीगलौज गर्ने एक जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ । आइतबार साँझ ७:३० बजेको समयमा गौरादह ५ राजपति चोक चप्रामारी बस्ने ३४ वर्षीय भिष्म सिटौलाले मादक पदार्थ सेवन गरी नगर प्रमुख सुवेदीको घरमा पुगेर अभद्र व्यवहार गरेका थिए ।
पीडित नगर प्रमुख सुवेदीका अनुसार सिटौलाले उनको घरमा आएर “बाहिर निस्की” भन्दै गालीगलौज गर्नुका साथै आफूमाथि हातपात समेत गरेका थिए । घटनाको जानकारी पाए लगत्तै प्रहरी चौकी महारानीझोडाबाट प्रहरी सहायक निरीक्षक चन्द्रबहादुर कार्कीको कमाण्डमा खटिएको टोलीले सिटौलालाई नियन्त्रणमा लिएको थियो ।
पक्राउ परेका सिटौलालाई थप अनुसन्धानका लागि इलाका प्रहरी कार्यालय दमकमा राखिएको छ । नगर प्रमुख सुवेदीमाथि हातपात र गालीगलौज गर्नुको वास्तविक कारण भने अहिलेसम्म खुल्न नसकेको प्रहरीले जनाएको छ ।






