वीरगंज । पर्साको सखुवाप्रसौनी गाउँपालिका ५ महुवनस्थित गण्डक नहर नजिक सोमबार राति जन्ती जाँदै गरेको कार दुर्घटना हुँदा चालकको मृत्यु भएको छ भने कारमा सवार अर्का एक जना गम्भीर घाइते भएका छन् ।
बहुदरमाई नगरपालिका ८ रामनगरीका साहेब सहनीको घरबाट सखुवा प्रसौनी गाउँपालिकाको एकडरवा गाउँतर्फ जन्ती जाँदै गरेको बीआर ०६४५ नम्बरको कार अनियन्त्रित भई राति करिब ९:१५ बजे गण्डक नहर छेउको पिपलको रुखमा ठोक्किँदा दुर्घटना भएको प्रहरीले जनाएको छ ।
दुर्घटनामा चालकसहित दुई जना गम्भीर घाइते भएका थिए । घाइतेलाई तत्काल उपचारका लागि वीरगंज मुर्लिस्थित न्युरो हस्पिटल लगिएको थियो । उपचारका क्रममा चालकको राति १०:१५ बजे मृत्यु भएको पर्साका प्रहरी नायब उपरीक्षक हरिबहादुर बस्नेतले जानकारी दिए ।
मृतक चालकको नाम र ठेगाना हालसम्म खुल्न नसकेको प्रहरीले जनाएको छ । दुर्घटनामा गम्भीर घाइते भएका अर्का व्यक्तिको अस्पतालमै उपचार भइरहेको डीएसपी बस्नेतले बताए ।




