धनुषा । धनुषाको हंसपुर नगरपालिकामा सडक निर्माण परियोजनामा भ्रष्टाचारको आरोपमा विशेष अदालतले पाँच जनालाई दोषी ठहर गरेको छ भने चार जनालाई क्लिन चिट दिएको छ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पिपिसी ढलान योजनाको रकम भुक्तानीमा भ्रष्टाचार गरेको आरोपमा पूर्वउपमेयर रेणुदेवी झासहित ९ जनालाई प्रतिवादी बनाउँदै गत असार ३२ गते मुद्धा दायर गरेको थियो ।
अख्तियारले तत्कालीन प्रशासकीय अधिकृत केशवकुमार अधिकारी, निमित्त प्रमुख प्रशासकीय अधिकृत रामलोचन मण्डल, इन्जिनियर दिनेशकुमार मण्डल, योजना शाखाका खरिदार शत्रुधन साह, लेखापाल नेत्र लुंगेली, सब-इन्जिनियर विनोदकुमार मण्डल, खरिदार ज्ञानेन्द्रकुमार झा, र देव कन्स्ट्रक्सनका प्रोप्राइटर शुभचन्द्र मण्डललाई मुद्धामा प्रतिवादी बनाएको थियो ।
अभियोग अनुसार, आर्थिक वर्ष २०७६/७७ मा नगर सभाबाट स्वीकृत कार्यक्रम अनुसार सुगा निकास टोलदेखि कट्टी चोकसम्मको सडक निर्माणका लागि १ करोड रुपैयाँ विनियोजन गरिएको थियो । तर योजना कार्यान्वयनको क्रममा काम नगरी गलत नापी–किताब तयार गरी आपसी मिलेमतोमा ५२ लाख ७२ हजार १६८ रुपैयाँ हिनामिना गरेको आरोपपत्रमा उल्लेख थियो ।
विशेष अदालतका अध्यक्ष सुदर्शनदेव भट्ट र सदस्यहरू हेमन्त रावल तथा डिल्लीरत्न श्रेष्ठको इजलासले इन्जिनियर दिनेशकुमार मण्डल र सब-इन्जिनियर विनोद मण्डललाई गलत प्रतिवेदन पेस गरेको ठहर गर्दै जनही ३ महिना कैद र १० हजार रुपैयाँ जरिवाना सुनाएको छ ।
त्यस्तै, तत्कालीन प्रमुख प्रशासकीय अधिकृत रामलोचन मण्डल, लेखापाल नेत्र लुंगेली र निर्माण व्यवसायी शुभचन्द्र मण्डललाई जनही ४ महिना कैद सजाय सुनाइएको छ । अदालतले बढी भुक्तानी भएको रकम ७ लाख ८१ हजार ८१८ रुपैयाँ दामाशाहीमार्फत तीनै जनाबाट असुल गर्ने निर्णय गरेको छ । साथै, अपराध पीडित संरक्षण ऐनअनुसार जरिवानाको थप ४ प्रतिशत क्षतिपूर्ति शुल्क तिर्नुपर्नेछ ।
उक्त मुद्धामा नगरपालिकाकी उपप्रमुख रेणुदेवी झा, तत्कालीन प्रमुख प्रशासकीय अधिकृत केशवकुमार अधिकारी, प्रशासन शाखा प्रमुख ज्ञानकुमार झा र खरिदार शत्रुधन शाहलाई भने क्लिन चिट दिइएको छ । अदालतले उनीहरूको हकमा बदनियत पुष्टि हुने वस्तुनिष्ठ प्रमाण नदेखिएको ठहर गरेको छ ।






