काठमाडौं । कोसी प्रदेशको राजनीति दशकौँदेखि स्थापित दलहरूको ‘गढ’ मानिन्थ्यो । तर २१ फागुनमा सम्पन्न प्रतिनिधिसभा निर्वाचनले यहाँको राजनीतिक परिदृश्यमा ठूलो फेरबदल ल्याएको छ ।
‘जेनजी’ आन्दोलनपछि बदलिएको जनमतले स्थापित दलहरूको प्रभाव कमजोर पार्दै नयाँ शक्तिलाई सशक्त रूपमा उभ्याएको देखिएको छ । निर्वाचन परिणाम अनुसार, कोसीका २८ निर्वाचन क्षेत्रमध्ये राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले १७ सिट जित्दै स्पष्ट अग्रता लिएको छ ।
नेकपा (एमाले) र नेपाली कांग्रेस यस पटक समान रूपमा ४–४ सिटमा सीमित भएका छन् । धरानका पूर्वमेयर नेतृत्वको नयाँ श्रम संस्कृति पार्टीले तीन सिट जित्दै प्रदेश राजनीतिमा नयाँ शक्ति रूपमा उदाएको छ ।
२०७९ को निर्वाचनमा एमालेले १३ सिट जितेर वर्चस्व कायम गरेको थियो भने कांग्रेसले ९ सिट पाएको थियो । तर तीन वर्षमै दुवै दलले ठूलो क्षति व्यहोरेका छन् । यसपटक नेकपा अधिकांश क्षेत्रमा प्रतिस्पर्धामा समेत कमजोर देखिएको छ ।
समानुपातिक मत परिणाममा पनि रास्वपा पहिलो स्थानमा पुगेको छ । अघिल्लो निर्वाचनमा २ लाख ३१ हजार मत पाएको रास्वपाले यसपटक ८ लाख ५३ हजार मत प्राप्त गरेको छ । चार महिनाअघि मात्र गठन भएको श्रम संस्कृति पार्टीले २ लाख ९२ हजार मतसहित दोस्रो स्थान प्राप्त गरेको छ ।
अघिल्लो निर्वाचनमा ६ लाख ६५ हजार मतसहित पहिलो स्थानमा रहेका एमाले यस पटक २ लाख ८८ हजार मतमा खुम्चिएका छन् । कांग्रेस २ लाख ९० हजार मतसहित तेस्रो स्थानमा सीमित भएको छ ।
विश्लेषकहरूले यस परिणामलाई परम्परागत राजनीतिप्रति असन्तुष्टि र नयाँ विकल्प प्रति जनअपेक्षाको स्पष्ट अभिव्यक्ति ठानेका छन् । राजनीति शास्त्रीहरूले भनेका छन् कि पुराना दलहरूले बदलिएको जनभावना बुझ्न नसक्दा नयाँ शक्ति प्रति आकर्षण बढेको हो ।
यो निर्वाचनले कोसी प्रदेशमा नयाँ राजनीतिक समीकरण र विकल्पको उदय स्पष्ट पारेको छ, जसले आगामी राजनीतिक रणनीति र दलगत समीकरणमा महत्वपूर्ण प्रभाव पार्ने देखिन्छ ।






