सर्लाही । सर्लाहीको बरहथवा नगरपालिका १० स्थित सितापुरमा स्कारपियो गाडीले जन्तीकाे भीडमा ठक्कर दिँदा १ जनाको मृत्यु भएको छ भने ११ जना घाइते भएका छन् । शुक्रबार साँझ करिब ७ बजे बरहथवाबाट सितापुरतर्फ जाँदै गरेको DL9CZO777 नम्बरको स्कारपियोले विवाहमा सहभागी जन्तीलाई ठक्कर दिएको हो ।
दुर्घटनामा परेर बरहथवा १० का ५० वर्षीय नारायण जर्गा मगरको मृत्यु भएको प्रहरीले जनाएको छ । गम्भीर घाइते भएका उनलाई उपचारका लागि नगर अस्पताल बरहथवा लगिएकोमा चिकित्सकले मृत घोषणा गरेका हुन् । मगरको शव पोस्टमार्टमका लागि सोही अस्पतालमा राखिएको छ ।
दुर्घटनामा ११ जना घाइते भएका छन् । घाइतेमध्ये केहीको टाउको र शरीरका विभिन्न भागमा चोट लागेको प्रहरीले जनाएको छ । घाइतेहरूको हनुमन्त अस्पताल, नगर अस्पताल र एडभान्स अस्पताल बरहथवामा उपचार भइरहेको छ ।
गम्भीर घाइते हुनेमा रौतहट दोस्तिया पिपरिया बस्ने ७० वर्षीय कमल पटेल र रौतहट गढीमाई नगरपालिका ११ की ४५ वर्षीया बन्धना पटेल रहेका छन् । उनीहरू बेहोस अवस्थामा उपचाररत रहेको प्रहरीले जनाएको छ ।
अन्य घाइतेहरूमा रुपेश मण्डल, प्रतिमा कुमारी पटेल, दिलिप राय, चन्दन पासवान, दीपिका जैसवाल, रामजी राय, मुकेश राउत, रामनारायण ठाकुर र गुलाब कुमारी मण्डल रहेका छन् । उनीहरूको अवस्था मध्यम रहेको र उपचार जारी रहेको प्रहरीले जनाएको छ ।
दुर्घटनापछि गाडी र चालकलाई प्रहरीले नियन्त्रणमा लिएर घटनाबारे थप अनुसन्धान गरिरहेको जनाएको छ।




