महोत्तरी । महोत्तरीको बर्दिवास नगरपालिकाका चार वटा वडामा खानेपानीको पहुँच पुगेको छ । बर्दिवास १, २, ३ र १४ मा लामो समयदेखि रहेको खानेपानी समस्या अहिले केही हदसम्म समाधान भएको छ ।
बर्दिवास साना सहरी खानेपानी तथा सरसफाइ उपभोक्ता संस्थाले जडान गरेको धारा मार्फत हाल पाँच हजार ९९८ परिवारले खानेपानी सुविधा लिइरहेका छन् । बर्दिवासको चुरे क्षेत्रमा रहेका तीन वटा मुहानबाट पानी ल्याएर वितरण गरिँदै आएको छ । ती मुहान चुरे क्षेत्रको रातु खोलाको दहमा रहेका छन् ।
बर्दिवासको मुख्य सहरी क्षेत्रमा दैनिक करिब सात लाख लिटर खानेपानीको माग हुने गरेको बताइएको छ । तर हिउँद लागेपछि पानीको मात्रा घट्दा उपभोक्ताको माग धान्न खानेपानी समितिलाई समस्या हुने गरेको छ ।
रातु खोलाको सुनारमरे दहमा रहेको मुख्य मुहान पनि हाल खोला उत्खननका कारण जोखिममा परेको बताइएको छ । यसले भविष्यमा खानेपानी आपूर्तिमा थप चुनौती आउन सक्ने चिन्ता व्यक्त गरिएको छ ।
दिन प्रतिदिन बर्दिवासमा जनसंख्या बढ्दै गएको छ भने पिउने पानीका मुहान घट्दै गएका छन् । यद्यपि बर्दिवासवासीलाई नियमित खानेपानी उपलब्ध गराउन आफूहरू निरन्तर प्रयासरत रहेको साना सहरी खानेपानी तथा सरसफाइ उपभोक्ता समितिका अध्यक्ष भुलन सेन ठकुरीले बताए ।
बर्दिवास १४ का स्थानीय विक्रम महतोका अनुसार पहिले इनारको पानी प्रयोग गर्नुपर्ने अवस्था थियो । उनले भने, “पहिला इनारको पानी खानुपर्थ्यो । हिउँद लागेपछि पानीको सतह घट्दै जाँदा चैत–वैशाखमा धमिलो पानी खान बाध्य हुन्थ्यौँ । अहिले धारा जडान भएपछि पानीको समस्या हटेको छ ।”




