वीरगंज । प्रहरीले पर्साबाट ठूलो परिमाणमा प्रतिबन्धित लागूऔषध ट्रामाडोल हाइड्रोक्लोराइड क्याप्सुलसहित दुई जनालाई पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालयका अनुसार शनिबार दिउँसो करिब सवा १२ बजेको समयमा वीरगन्ज महानगरपालिका १४ गण्डक चोकस्थित सवारी चेकजाँचका क्रममा उक्त लागूऔषध बरामद गरिएको हो ।
प्रहरी चौकी गण्डकबाट खटिएको टोलीले वीरगन्ज बसपार्कबाट काठमाडौंतर्फ जाँदै गरेको ना १ ज २७६५ नम्बरको टाटा सुमो रोकी जाँच गर्दा गाडीको छतमा पहेँलो त्रिपालले ढाकी राखिएको झोला र बोराभित्र लुकाइछिपाइ राखिएको ट्रामाडोल हाइड्रोक्लोराइड लेखिएका ५२ हजार ३ सय क्याप्सुल फेला पारेको प्रहरीले जनाएको छ ।
उक्त घटनामा संलग्न रहेको आरोपमा बारा परवानीपुर गाउँपालिका १ रहरिया डिह बस्ने ४२ वर्षीय राम अशिष राउत अहिर र पर्सा बहुदरमाई नगरपालिका २ सिसियाडी बस्ने ३० वर्षीय सुवास सर्राफलाई नियन्त्रणमा लिइएको छ ।
पक्राउ परेका दुवै जनामाथि लागूऔषध सम्बन्धी कसूरमा पर्सा जिल्ला अदालतबाट सात दिनको म्याद थप गरी थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय पर्साले जनाएको छ । प्रहरी प्रवक्ता तथा सूचना अधिकारी प्रहरी नायब उपरीक्षक राजु कार्कीका अनुसार बरामद लागूऔषधसहित पक्राउ परेकाहरूमाथि कानुनी प्रक्रिया अघि बढाइएको छ ।






