सिरहा । सुर्खेतकी इनिशा विश्वकर्माको हत्या तथा रौतहटमा दलित समुदायमाथि भएको सामूहिक कुटपिट घटनाको विरोधमा सिरहाको गोलबजारमा प्रदर्शन गरिएको छ । दलित विकास मञ्चको आयोजनामा तथा विभिन्न गैरसरकारी संस्थाको सहकार्यमा सोमबार विरोध प्रदर्शन गरिएको हो ।
प्रदर्शनमा सहभागीहरूले दोषीलाई तत्काल पक्राउ गरी कडा कानुनी कारबाही गर्न सरकारसँग माग गरेका छन् । उनीहरूले गोलबजार क्षेत्रमा नाराबाजीसहित प्रदर्शन गर्दै पीडितलाई न्याय दिलाउन राज्यले गम्भीरता देखाउनुपर्ने बताएका थिए ।
प्रदर्शनपछि गोलबजार मुख्यचोक गोलचक्करमा कोणसभा आयोजना गरिएको थियो। कार्यक्रममा वक्ताहरूले पछिल्ला समय महिला, विशेष गरी दलित महिलामाथि हुने हिंसा र हत्या घटनाहरू बढ्दै गएकोप्रति गहिरो चिन्ता व्यक्त गरे । उनीहरूले छोरीहरू विद्यालय गएपछि सुरक्षित रूपमा घर फर्कन्छन् कि फर्कन्नन् भन्ने डर अभिभावकमा बढ्दै गएको बताए ।
वक्ताहरूले राज्यका निकायहरूले महिलाप्रति संवेदनशील दृष्टिकोण अपनाउन नसक्दा महिलाहरू थप जोखिममा परेको जिकिर गरे । कानुनी शासन, जिम्मेवार प्रशासन र उत्तरदायी जनप्रतिनिधित्व कमजोर हुँदा यस्ता घटनाहरू बढ्दै गएको उनीहरूको भनाइ थियो ।
उनीहरूले महिलाले स्वतन्त्र र सुरक्षित रूपमा बाँच्न पाउने अधिकार सुनिश्चित गर्न सरकारलाई प्रभावकारी कदम चाल्न आग्रह गरेका छन् । साथै दलित महिलामाथि भइरहेका बलात्कार तथा हत्या घटनाप्रति पनि राज्य गम्भीर हुनुपर्नेमा जोड दिएका छन् ।
कोणसभामा दलित विकास मञ्चका कार्यकारी निर्देशक सञ्जय महरा, दलित अगुवा तथा समाजसेवी शिवकुमार महरा, दलित महिला केन्द्र (सीडीडब्ल्यूएन) की रीता रजक तथा मुक्ति नेपालका दासले मन्तव्य व्यक्त गरेका थिए ।




