वीरगंज । स्थानीयहरूले पोखरियामा रहेको मालपोत कार्यालयमा बढ्दो अनियमितता र भ्रष्टाचार बारे गहिरो चिन्ता व्यक्त गरेका छन् । कार्यालयको सेवा प्रणाली अहिले त्यति सहज छैन, जसले सामान्य काम गर्न पनि सेवाग्राहीहरूलाई कठिनाइमा पारिरहेको छ ।
स्थानीयहरूका अनुसार, कार्यालयमा काम गर्न बिचौलियाको भूमिका अत्यधिक बढेको छ । सामान्य काम गराउनका लागि पनि सेवाग्राहीहरूले बिचौलियाको सहयोग लिनुपर्ने अवस्था आएको छ । बिचौलिया नहुँदा काम हप्तौँसम्म रोकिने समस्या देखिएको छ ।
कार्यालयका कर्मचारी र बिचौलिया बीचको उठबस पनि सेवाग्राहीलाई कठिनाइ दिने प्रमुख कारण बनेको छ । रकम दिने वा नदिने आधारमा सेवाग्राहीको काममा ढिलाइ हुने गरेको स्थानीयहरूले बताए । अझै, काम रोकिनु वा ढिला हुनुको कारण स्पष्ट नबताई सेवाग्राहीलाई विभिन्न बहाना दिइएको देखिन्छ ।
“कागजात कम छ, थप कागज चाहिन्छ” जस्ता कारण बताइने र कागजात पुर्याएपनि काममा ढिलाइ गरिने प्रवृत्ति बढेको छ । विशेष गरी मुद्दा फाँटमा हुने सेवाहरूमा अनियमितता झन् स्पष्ट देखिएको छ ।
हाल साबिक गर्दा हुने जग्गा थपघटको प्रक्रियामा फाँटका कर्मचारी रामरेखा चौरसियाले सेवाग्राहीलाई ढिलाइ र कठिनाइ दिने गरेको स्थानीयहरूले गुनासो गरेका छन् ।
कार्यालय प्रमुख रामजी साहलाई पटक पटक समस्या बारे जानकारी गराइएको भएपनि हालसम्म कुनै ठोस कदम नलिइएको सेवाग्राहीहरू बताउँछन् ।
स्थानीयहरूका अनुसार, कार्यालयको यो समस्या सुधार्न प्रभावकारी व्यवस्थापन, पारदर्शी सेवा प्रणाली र बिचौलियाविहीन प्रणाली आवश्यक छ । यदि तत्काल सुधार नगरिएमा सामान्य सेवाग्राहीको दुःख र अनियमितताको स्तर बढ्दै जाने खतरा रहिरहनेछ ।






