रौतहट । रौतहट र सर्लाहीलाई जोड्ने महत्वपूर्ण गंगापिपरा–खैरवा सडकखण्ड अन्तर्गत बागमती नदीमा निर्माणाधीन पुल झन्डै एक दशक बितिसक्दा पनि पूरा हुन सकेको छैन । पुल निर्माण अलपत्र परेपछि दुबै जिल्लाका हजारौँ स्थानीयवासी दैनिक जोखिम मोलेर नदी वारपार गर्न बाध्य छन् ।
रौतहटको दुर्गा भगवती गाउँपालिका १ गंगापिपरा र सर्लाहीको रामनगर गाउँपालिकाको खैरवालाई जोड्ने यो पुल लामो समयदेखि अधुरै अवस्थामा छ । निर्माण कम्पनीले काम अधुरै छाडेर साइटबाट हटेपछि पुलको काम पूर्ण रूपमा ठप्प भएको स्थानीयहरू बताउँछन् ।
२०७३ असार २८ गते करिब ८६ करोड ३७ लाख ९ हजार रुपैयाँ लागतमा टुडी–रसुवा–पप्पु जेभी कम्पनीसँग ठेक्का सम्झौता भएपछि पुल निर्माण सुरु गरिएको थियो । प्रारम्भिक योजना अनुसार केही वर्षमै सम्पन्न हुनुपर्ने आयोजना विभिन्न कारण देखाउँदै पटक पटक म्याद थपिँदै आएको छ ।
पछिल्लो पटक निर्धारण गरिएको समयसीमा अनुसार २०८३ कात्तिक १३ गतेभित्र निर्माण कार्य सक्ने लक्ष्य राखिएको छ । तर विगत दुई वर्षदेखि निर्माण कम्पनीले कुनै काम नगरेको स्थानीयले बताएका छन् ।
स्थानीयका अनुसार पुल निर्माणमा भएको ढिलाइ हरेक चुनावमा मुख्य मुद्दा बन्ने गरेपनि निर्वाचन सकिएपछि यो विषय ओझेलमा पर्ने गरेको छ । यस पटक पनि सर्लाही क्षेत्र नम्बर ४ र रौतहट क्षेत्र नम्बर १ का उम्मेदवारहरूले प्रतिनिधिसभा निर्वाचनका क्रममा पुल निर्माणलाई साझा चुनावी एजेन्डा बनाएका थिए ।
केही महिनाअघि तत्कालीन भौतिक पूर्वाधार तथा यातायात मन्त्रीका रूपमा रहेका कुलमान घिसिङले अधुरा पुलहरूको अनुगमन गर्दै निर्माण कम्पनीलाई यथाशीघ्र काम सम्पन्न गर्न निर्देशन दिएका थिए । तर उक्त निर्देशनपछि पनि निर्माण कार्य सुरु नहुँदा स्थानीय निराश बनेका छन् ।
सर्लाही ४ बाट निर्वाचित सांसद अमरेशकुमार सिंहले चुनावी प्रचारका क्रममा पुल निर्माणलाई तीव्र गतिमा अघि बढाउने प्रतिबद्धता व्यक्त गरेका थिए । उनले यसअघि २०७४ र २०७९ को निर्वाचनमा पनि यही वाचा दोहोर्याएका थिए ।
त्यस्तै नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले पनि चुनाव जिते वा हारेपनि पुल निर्माणका लागि पहल गर्ने बताएका थिए । तर स्थानीयका अनुसार निर्माण कार्य कहिले सुरु हुन्छ भन्ने अझै अनिश्चित छ ।
पुल निर्माणमा प्रयोग गरिएका सामाग्रीको गुणस्तर बारे पनि पटक पटक प्रश्न उठ्दै आएको छ । २०८० सालमा आएको बाढीका कारण पुलको एक पिलर बगाएपछि निर्माण कार्य थप प्रभावित भएको थियो । त्यसयता निर्माण कम्पनी साइटबाटै हराएको गंगापिपराका स्थानीय बताउँछन् ।
बाढीका कारण पुलको एक स्पान र एक फाउन्डेसनमा क्षति पुगेपछि निर्माण कार्य झन् प्रभावित भएको हो । स्थानीयका अनुसार ठेकेदार कम्पनीले माटो परीक्षण र डिजाइन पुनरावलोकनको बहाना देखाउँदै काम रोकेको आरोप समेत लागेको छ ।
करिब ८० प्रतिशत निर्माण कार्य सम्पन्न भएको दाबी गरिए पनि पुल सञ्चालनमा नआउँदा स्थानीयवासीले दैनिक जोखिमपूर्ण यात्रा गर्नुपरेको छ । बाढीपछि पुलको अधुरा कामलाई तीव्रता दिन राज्य पक्षबाट अपेक्षित पहल नहुँदा यो आयोजना अझै अन्योलमै रहेको स्थानीयको गुनासो छ ।
वर्षौंदेखि अधुरो रहेको गंगापिपरा पुल अहिले स्थानीयका लागि विकासको प्रतीकभन्दा पनि राजनीतिक वाचा र प्रशासनिक ढिलासुस्तीको उदाहरण बनेको छ । पुल समयमै सम्पन्न भए दुबै जिल्ला बीचको आवागमन सहज हुनेछ ।




