सर्लाही । सर्लाही जिल्लाको कबिलासी नगरपालिका क्षेत्रमा एक युवकलाई नांगै बनाएर निर्घात कुटपिट गरिएको घटना सार्वजनिक भएपछि प्रहरीले अनुसन्धान तीव्र पारेको छ । चर्चित धार्मिक स्थल चमेलीमाई मन्दिर नजिकै रहेको फन पार्क क्षेत्रमा भएको उक्त घटनाको भिडियो सार्वजनिक भएपछि प्रशासन सक्रिय बनेको हो ।
गत फागुन २३ गते अपराह्न करिब ४ बजे कबिलासी १० स्थित सो क्षेत्रमा चक्रघट्टा गाउँपालिका ९ निवासी राजकुमार यादवका १९ वर्षीय छोरा प्रमितकुमार यादवमाथि अमानवीय व्यवहार गर्दै कुटपिट गरिएको बताइएको छ ।
घटनाको भिडियो सामाजिक सञ्जालमा भाइरल बनेपछि पीडित परिवारले जिल्ला प्रहरी कार्यालय सर्लाहीमा जाहेरी दिएको थियो । सोही आधारमा प्रहरीले घटनामा संलग्न रोहितकुमार यादवलाई पक्राउ गरेको छ । उनलाई फागुन २९ गतेदेखि लागू हुने गरी ज्यान मार्ने उद्योग, अपमानजनक तथा अमानवीय व्यवहार र कुटपिट अंगभंग सम्बन्धी कसुरमा मुद्दा दर्ता गरिएको प्रहरीले जनाएको छ ।
पक्राउ परेका आरोपितलाई सर्लाही जिल्ला अदालतबाट पाँच दिनको म्याद थप गरी थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय सर्लाहीका सूचना अधिकारी एवम् डिएसपी सरोज राईले जानकारी दिए । प्रहरीका अनुसार घटनामा संलग्न अन्य फरार व्यक्तिहरूको खोजी कार्यलाई तीव्र बनाइएको छ ।
घाइते प्रमितकुमार यादव हाल उपचाररत रहेकाले घटनाको वास्तविक कारण बारे थप जानकारी आउन बाँकी रहेको छ । प्रारम्भिक अनुसन्धानका क्रममा मोबाइलमार्फत भएको गालीगलौजबाट विवाद बढ्दै कुटपिटसम्म पुगेको देखिएको प्रहरीले जनाएको छ ।




